
१४ फागुन,
काठमाडौं : चुनावको मुखैमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा सिंगापुर गएका छन्।
उनी हिजो राति १२ बजे सिंगापुर एयरलाइन्सको विमानमार्फत सिंगापुर प्रस्थान गरेको त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थल प्रहरी स्रोतले पुष्टि गरेको छ।
देउवा स्वस्थ्योपचारका लागि सिंगापुर गएका हुन्। पत्नी डाक्टर आरजु राणा देउवा भने तीन दिन अघि नै सिंगापुर गइसकेको स्रोतले बताएको छ।
विशेष महाधिवेशनमार्फत कांग्रेस गगन थापाको नेतृत्वमा गएपछि देउवा अलमलमा थिए। गृहजिल्ला डडेल्धुराका कांग्रेस समर्थकहरुले देउवा मतदान गर्न भए पनि आउने अपेक्षा गरे पनि अब त्यो सम्भावना समेत सकिएको छ।
सभापति थापाले टिकट नदिएपछि निर्वाचनका सबै प्रक्रियाबाट बाहिर रहेका देउवा पार्टीको आधिकारिकतासम्बन्धि विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकाले थप अन्योलमा फसेको निकस्थ नेताहरु बताउने गरेका थिए।
यद्यपि सभापति थापा पक्षका नेताहरुले भने देउवाको सहयोग माग्न हरसम्भव प्रयास गरेका थिए। डडेलधुराबाट २०४८ देखि लगातार ७ वटा चुनावमा कांग्रेसको उम्मेदवार भएर सातैपटक विजयी भएका देउवा यसपटक भने चुनावमा सहभागी नहुने उनको सचिवालयले जनाएको छ।
कांग्रेस प्रवक्ता देवराज चालिसेले भने सभापति सिंगापुर गएकोबारे आफूहरु जानकार नरहेको प्रतिक्रिया दिए।
जेनजी आन्दोलनपछि कत्तिक १० गते उपचारका लागि सिंगापुर गएका देउवा दम्पत्ति १८ दिनपछि स्वदेश फर्किएका थिए।












