
२४ माघ,
कोहलपुर । कोहलपुर नगरपालिकाका नगर प्रमुख पूर्ण प्रसाद आचार्यले मतदान गर्दा उम्मेदवारको फोटो मात्र होइन, उसको चरित्र, निष्ठा, इतिहास र प्रतिबद्धता गम्भीरतापूर्वक मूल्यांकन गर्नुपर्ने बताएका छन्।
आचार्यले सामाजिक सञ्जालमार्फत सन्देश जारी गर्दै भनेका छन्, “एउटा कुहिएको आलुले सिङ्गो गोदाम बर्बाद गर्छ भन्ने सबैलाई थाहा छ। ठीक त्यसैगरी, एउटा गलत पात्रको विजयले सिङ्गो पार्टी, आन्दोलन र भविष्य नै खत्तम हुन सक्छ।”
उनले मतदातालाई आवेगमा होइन, सोच–विचार गरेर मतदान गर्न आग्रह गर्दै भोट कुनै उपहार नभई भविष्यप्रतिको जिम्मेवारी भएको उल्लेख गरे। “आवेगमा गरिएको निर्णयले क्षणिक सन्तुष्टि दिन सक्छ, तर भविष्यमा गहिरो पश्चाताप हुन सक्छ,” उनले चेतावनी दिए।
नगर प्रमुख आचार्यले ‘उम्मेदवार जस्तो भए पनि भोट दिनुपर्छ’ भन्ने मानसिकता कति उचित छ भन्ने प्रश्न उठाउँदै नागरिकलाई सचेत र जिम्मेवार निर्णय लिन आह्वान गरेका छन्।
उनको भनाइलाई आगामी निर्वाचनको सन्दर्भमा मतदातालाई सचेत बनाउने सन्देशका रूपमा हेरिएको छ।












