
२१ माघ,
बाँके । बाँके जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ नजिकिँदै जाँदा एकदर्जनभन्दा बढी उम्मेदवारले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका छन्।
उम्मेदवारहरूले मतदातालाई विभिन्न सामग्री वितरण गर्ने, प्रचारप्रसारमा प्रतिबन्धित वस्तु तथा चिन्ह प्रयोग गर्ने, निषेधित स्थानमा सभा–भेला आयोजना गर्ने जस्ता कार्य गरेको पाइएको हो। निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न बनेको जिल्ला अनुगमन संयन्त्रका अनुगमन अधिकृत पूर्णबहादुर खत्रीका अनुसार जिल्लामा करिब १५ वटा आचारसंहिता उल्लङ्घनका घटना जानकारीमा आएका छन्।
“बाँकेका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूबाट आचारसंहिता उल्लङ्घनका घटना देखिएका छन्,” अनुगमन अधिकृत खत्रीले भने, “यस्ता घटना जानकारीमा आउनेबित्तिकै अनुगमन तथा आवश्यक कारबाही प्रक्रिया अगाडि बढाइएको छ।”
खत्रीका अनुसार निर्वाचन क्षेत्र नम्बर ३ मा विद्यालय परिसरमा राजनीतिक दलको भेला तथा कार्यक्रम आयोजना गरिएको, त्यस्ता कार्यक्रममा वडा अध्यक्ष तथा पालिका अध्यक्षले उम्मेदवारको पक्षमा भाषण गरेको र गैरसरकारी संस्थामा आबद्ध पदाधिकारीहरूले सामाजिक सञ्जालमार्फत पार्टीको प्रचारप्रसार गरेको पाइएको छ।
त्यसैगरी निर्वाचन क्षेत्र नम्बर २ मा उम्मेदवारको प्रचारमा ब्याजको प्रयोग, गम्छामा चुनाव चिन्ह अंकित सामग्री प्रयोग तथा मतदाताको आग्रहमा उम्मेदवारले तत्काल बाटोमा ग्राभेल खसाएको घटना फेला परेको छ। निर्वाचन क्षेत्र नम्बर १ मा भने मतदातालाई लकेट वितरण गरिएको तथा सवारीसाधनमा झन्डा प्रयोग गरी आचारसंहिता उल्लङ्घन गरिएको पाइएको छ।
आचारसंहिता उल्लङ्घन गर्ने उम्मेदवारहरूलाई मौखिक स्पष्टीकरण सोधिएको र त्यस्ता गतिविधि तत्काल रोक्न निर्देशन दिइएको अनुगमन अधिकृत खत्रीले जानकारी दिए।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले निर्वाचन आयोगले निर्वाचन आचारसंहिता जारी गरेको छ। सोहीअनुसार जिल्लामा तोकिएका अनुगमन अधिकृतहरूले आचारसंहिता पालनाका लागि कडाइका साथ निगरानी थालेका छन्।












