
२ मंसिर,
बर्दिया – प्रहरीले बर्दियामा लागू औषध ब्राउनसुगरसहित तीन जना पक्राउ गरेको छ। बर्दियाका दुई फरक स्थानमा गरिएको चेकजाँचका क्रममा उनीहरू पक्राउ परेका हुन्।
इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको टोलीले बासगढी नगरपालिका–३ लखनागाउँमा शंकास्पद रूपमा बसिरहेका ३२ वर्षीय सुनिल थारु र २० वर्षीय सफिक मोहम्मद शाईलाई चेकजाँच गर्दै गर्दा प्लास्टिकसहित १ ग्राम ११० मिलिग्राम तथा शुद्ध तौल ५८० मिलिग्राम ब्राउनसुगर जस्तो देखिने पदार्थ बरामद गरेको प्रहरीको भनाइ छ।
दुवैलाई नियन्त्रणमा लिएर मोतीपुर प्रहरीमा अनुसन्धान थालिएको छ।
यस्तै प्रहरी चौकी कालिकाबाट खटिएको टोलीले बढैयाताल गाउँपालिका–७ कण्ठपुर क्षेत्रमा भारततर्फबाट नेपालतर्फ प्रवेश गर्दै गरेका ३६ वर्षीय राजकुमार सुनारलाई चेकजाँच गर्दा प्लास्टिकसहित १ ग्राम ६० मिलिग्राम तथा शुद्ध तौल १ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ।
उनीलाई मैनापोखर प्रहरीले नियन्त्रणमा राखेर अनुसन्धान जारी राखेको छ।
प्रहरीका अनुसार दुवै घटनामा बरामद पदार्थको स्रोत र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ।











