२ मंसिर,

बाँके । प्रेस काउन्सिल नेपालले पछिल्लो समय युट्युब च्यानल, फेसबुक पेजलगायत विभिन्न सामाजिक सञ्जालबाट मिडियाको आवरणमा प्रसारित भ्रामक, अश्लील, भ्रमपूर्ण तथा गालीगलौजयुक्त सामग्रीको व्यापक अनुगमन थालेको जनाएको छ।

काउन्सिलका अनुसार कानुनी प्रक्रिया पूरा नगरी सञ्चालित कतिपय सामाजिक सञ्जालले आफूलाई आधिकारिक मिडिया भनी प्रस्तुत गर्ने, भ्यूअर बढाउने नाममा राष्ट्रियता, स्वाधीनता र सामाजिक सद्भावविरुद्ध सामग्री प्रवाह गर्ने, हिंसालाई प्रोत्साहन गर्ने, उत्तेजक शीर्षक र थम्बनेल प्रयोग गरी जनमानसमा भ्रम फैलाउने जस्ता गतिविधि बढ्दै गएको पाइएको छ।

यस्ता कार्यले प्रचलित कानुन उल्लङ्घन गर्ने मात्र नभई फौजदारी कानुन पनि आकर्षित हुन सक्ने काउन्सिलले चेतावनी दिएको छ।

अनुगमनका क्रममा प्राप्त गुनासो तथा प्रमाणका आधारमा काउन्सिलले सम्बन्धित व्यक्तिहरू र सञ्जालविरुद्ध कारबाहीका प्रक्रिया अघि बढाइसकेको जनाएको छ। सो प्रक्रियामा अन्य राज्य निकायहरूसँग समन्वय गरी समस्या समाधानका पहल भइरहेको काउन्सिलले स्पष्ट पारेको छ।

प्रेस काउन्सिलले विशेषगरी युट्युबर, फेसबुक पेज सञ्चालक र स्वयंलाई ‘अभियन्ता’का रूपमा प्रस्तुत गर्ने केही व्यक्तिहरूले तथ्यहीन, अमर्यादित, अश्लील, अफवाहपूर्ण तथा सनसनीपूर्ण सामग्रीलाई प्राथमिकता दिने प्रवृत्तिबाट पेसागत मर्यादा गम्भीर रूपमा प्रभावित भएको बताएको छ।

काउन्सिलले यस्ता गतिविधि तत्काल रोक्न तथा नगर्न–नगराउन सबैलाई आग्रह गर्दै, आवश्यक परे सम्बन्धित निकायमा पत्राचार गरी कारबाही अघि बढाइने जनाएको छ।

यस्तै, सञ्चारकर्मी स्वयंले प्रयोग गर्ने सामाजिक सञ्जालमा देखिएका आपत्तिजनक सामग्रीसमेत काउन्सिलले नियमित अनुगमन गर्दै आएको छ। जातीय, धार्मिक समूदायबीच वैमनस्यता फैलाउने, सार्वजनिक शिष्टता र नैतिकता विपरीत सामग्री राख्ने तथा नियोजित रूपमा मिथ्या सूचना प्रवाह गर्ने कार्यप्रति काउन्सिलले कडाइ गरेको छ।

सञ्चार माध्यमलाई कानुनअनुसार दर्ता, अभिलेख अद्यावधिक, आचारसंहिताभित्र रही सामग्री सम्प्रेषण तथा मिडिया नीतिबारे स्वघोषणा प्रणाली अपनाउन समेत काउन्सिलले पुनः आह्वान गरेको छ।

प्रतिक्रिया

सम्बन्धित ख