
१४ फागुन,
बाँके । नेपाल क्रिकेट संघ (क्यान) केन्द्रीय कार्यसमितिको सोमबार सम्पन्न बैठकले क्यानको केन्द्रीय सम्झौतामा आबद्ध महिला तथा पुरुष क्रिकेट खेलाडीहरूलाई दिइने मासिक पारिश्रमिकको विषयमा पनि निर्णय गरेको छ ।
क्यानले पुरुषतर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीलाई मासिक एक लाख रुपैयाँ तलब दिने निर्णय गरेको छ । ग्रेड ‘बी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ७० हजार रुपैयाँ पारिश्रमिक दिने निर्णय गरेको छ । ग्रेड ‘सी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ५५ हजार रुपैयाँ तलब दिइने छ ।
यसै गरी ग्रेड ‘डी’ मा रहेका पुरुष खेलाडीलाई मासिक ३५ हजार र इमर्जिङ खेलाडीलाई मासिक २५ हजार रुपैयाँ पारिश्रमिक उपलब्ध गराउने निर्णय पनि क्यानले गरेको छ ।
यस्तै महिलातर्फ ग्रेड ‘ए’ मा रहेका खेलाडीले मासिक ५० हजार रुपैयाँ पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ । ग्रेड ‘बी’ मा रहेका महिला खेलाडीले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक पाउँछन् ।
यसैगरी ग्रेड ‘सी’ मा रहेका महिला खेलाडीले मासिक ३० हजार तलब पाउँछन् । ग्रेड ‘डी’ मा रहेका खेलाडीले मासिक २५ हजार र इमर्जिङ समूहमा रहेका खेलाडीले मासिक २० हजार पारिश्रमिक पाउने निर्णय क्यानले गरेको छ ।






