
✍ गोविन्द भण्डारी
बाँके,ड्राइभिङ स्कुलहरूले यातायात कार्यालयका कर्मचारी हरुसँग मिलेर सवारी चालक अनुमतिपत्र बनाइदिने र कार्यालयकै कर्मचारीले पनि पैसा लिएर विनापरीक्षण चालक अनुमति पत्र घर-घरमै पुर्याइदिने गरेको तथ्य फेला परेको छ।सार्वजनिक यातायात सुधार कार्यदलले बताए अनुसार मोटो रकम लिएर सवारी चालक अनुमतिपत्र (लाइसेन्स) बनाउन कर्मचारी र ड्राइभिङ स्कुलका सञ्चालकबीच मिलेमतो हुने गरेको ठहर गरेको छ ।
सार्वजनिक यातायात कार्यदलले सरकारलाई बुझाएको १९९ पृष्ठको प्रतिवेदनमा यातायात व्यवस्था कार्यालयहरूले सेवाग्राहीको संख्या र उपस्थितिलाई राम्रोसँग व्यवस्थापन नगरिएको हुनाले भिड बढेको र सेवा लिन सास्ती भएको हुँदा भ्रष्टाचार र अनियमितताले प्राथमिकता पाएको भनि निष्कर्ष निकालेको छ। कर्मचारीसँग सहज पहुँच नहुने अनेक कोठाहरुमा धाउन पर्ने झन्झट विचौलियाको शरणमा नपरे सम्म काम नहुने भएकाले छिटो सेवा लिने चाहानाले सेवाग्राहीहरु बिचौलियाको शरणमा जानुपर्ने अवस्था बनेको छ ।
सार्वजनिक यातायात कार्यदलले १९९ पृष्ठ लामो प्रतिवेदन नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन अध्यनन गरेर सुझावलाई कार्यान्वयन गर्ने आश्वासन मन्त्री ज्वालाले दिएका छन्।









