२ वैशाख,

बाँके — कोहलपुर नगरपालिकाले शैक्षिक सत्र २०८३ लाई व्यवस्थित बनाउन सामुदायिक तथा संस्थागत विद्यालयहरूका लागि ११ बुँदे निर्देशन जारी गरेको छ। नगर प्रमुखको उपस्थितिमा बसेको प्रधानाध्यापक, शिक्षक महासंघ तथा अन्य शैक्षिक सरोकारवालाहरूको संयुक्त बैठकले उक्त निर्णय गरेको हो।

नगर कार्यपालिकाको कार्यालयले जारी गरेको सूचनाअनुसार वैशाख ३ गतेदेखि नियमित भर्ना अभियान सञ्चालन गरिनेछ भने वैशाख १४ गतेदेखि विद्यालयमा नियमित पठनपाठन सुरु गरिनेछ।

नगरपालिकाले वैशाख १५ गतेभित्रै शैक्षिक सामग्रीको व्यवस्थापन गर्न, निःशुल्क पाठ्यपुस्तक खरिद तथा वितरण सुनिश्चित गर्न र विद्यालयहरूले आफ्नो वार्षिक शैक्षिक योजना तयार गर्न निर्देशन दिएको छ। साथै, IEMIS प्रणालीमा शिक्षकहरूको विवरण अद्यावधिक गर्न पनि आग्रह गरिएको छ।

शिक्षकहरूको पेशागत क्षमता विकासका लागि शिक्षा शाखासँग समन्वय गरी तालिम तथा कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। सार्वजनिक बिदा व्यवस्थापनतर्फ ध्यान दिँदै शुक्रबार र महिनाको अन्तिम दिन पूर्ण समय पठनपाठन सञ्चालन गर्न पनि भनिएको छ।

त्यसैगरी, शैक्षिक सत्र २०८२ का शिक्षकहरूको बिदा अभिलेख अद्यावधिक तथा प्रमाणित गर्नुपर्नेछ भने विद्यालय व्यवस्थापन समितिको म्याद सकिएका विद्यालयहरूले वैशाख मसान्तभित्र नयाँ समिति गठन गर्नुपर्नेछ। तोकिएको समयमा समिति गठन नभए अस्थायी समिति गठन प्रक्रिया अघि बढाइने नगरपालिकाले जनाएको छ।

प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीले जारी गरेको उक्त निर्देशनको प्रभावकारी कार्यान्वयन गर्न सबै विद्यालयलाई अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित ख