२३ चैत्र,

बाँके — बाँके–२ का प्रतिनिधिसभा सदस्य तथा पूर्वमन्त्री इस्तियाक राईले जिल्लाको समग्र विकासका लागि तयार पारिएका प्रमुख योजनाहरू प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष प्रस्तुत गरेका छन्। उनले पूर्वाधार, शिक्षा, उद्योग, खेलकुद, स्वास्थ्य र सामाजिक क्षेत्र समेटिएको विस्तृत प्रस्ताव बुझाउँदै ती योजनाहरू शीघ्र कार्यान्वयन गर्न आग्रह गरेका हुन्।

राईले नेपालगञ्ज–नयाँ दिल्ली सीधा हवाई उडान सञ्चालनका लागि कूटनीतिक पहल गर्नुपर्ने, नेपालगञ्जमा आधुनिक क्रिकेट रंगशाला निर्माण गर्नुपर्ने तथा आईसीपी (एकीकृत भन्सार जाँच चौकी) लाई सुक्खा बन्दरगाहका रूपमा विस्तार गर्नुपर्ने प्रस्ताव गरेका छन्। साथै, नौवस्ता औद्योगिक क्षेत्रलाई पूर्ण सञ्चालनमा ल्याउने र बाढी नियन्त्रणका लागि तटबन्ध निर्माणलाई प्राथमिकतामा राखिएको छ।

शिक्षातर्फ, नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिकाका विद्यालयहरूमा डिजिटल शिक्षाको पाइलट परियोजना सञ्चालन गर्ने, महेन्द्र बहुमुखी क्याम्पसलाई क्षेत्रीय विश्वविद्यालयका रूपमा विकास गर्ने तथा प्राविधिक शिक्षालाई सुदृढ बनाउने योजना प्रस्तुत गरिएको छ। भेरी प्राविधिक शिक्षालयको स्तरवृद्धि र ऐतिहासिक महेन्द्र पुस्तकालयको स्तरोन्नति पनि प्रस्तावमा समावेश छन्।

स्वास्थ्य क्षेत्रमा नेपालगञ्जस्थित भेरी अस्पताललाई विशिष्टिकृत अस्पतालमा रूपान्तरण गर्ने, विशेषज्ञ चिकित्सक तथा प्राविधिक जनशक्ति थप गर्ने, न्यूरो, मुटु, किड्नी र फोक्सोसम्बन्धी जटिल उपचार सेवा विस्तार गर्ने तथा ट्रमा सेन्टर स्थापना गर्ने योजना अघि सारिएको छ। साथै, स्नातकोत्तर तहको चिकित्सा शिक्षा सञ्चालन, नयाँ भवन निर्माण, चिकित्सक आवास व्यवस्था, व्यवस्थित मर्चरी चेम्बर र पोस्टमार्टम संरचना निर्माण गर्नुपर्ने आवश्यकता औंल्याइएको छ। पालिकास्तरका अस्पताल र स्वास्थ्य चौकीलाई आधुनिक सुविधा सहित स्तरोन्नति गर्ने र मातृ सेवा विस्तारमा जोड दिइएको छ।

सामाजिक क्षेत्रमा अन्तरधार्मिक सहिष्णुता र सद्भाव प्रवर्द्धन, धार्मिक पर्यटन विकास, जमुनाहा नाकामा पर्यटकमैत्री सेवा विस्तार, लागुऔषध नियन्त्रण तथा पुनर्स्थापना सेवा सुदृढीकरण र कृषकहरूका लागि मल समस्या समाधानका लागि विशेष कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव गरिएको छ।

सांसद राईले बाँकेको समग्र विकासका लागि संघीय सरकारको विशेष ध्यान आवश्यक रहेको उल्लेख गर्दै प्रस्तुत योजनाहरूलाई प्राथमिकताका साथ कार्यान्वयन गर्न आग्रह गरेका छन्।

प्रतिक्रिया

सम्बन्धित ख