
२२ चैत्र,
बाँके । शपथ ग्रहण गरेसँगै पक्राउ अभियान तीव्र बनाएका गृहमन्त्री सुधन गुरुङले विगतमा प्रहरीलाई प्रभावकारी रूपमा काम गर्न नदिएको संकेत गरेका छन्।
आइतबार बिहान सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले विगतको अवस्थाप्रति टिप्पणी गरेका हुन्। फेसबुकमा लेख्दै गृहमन्त्री गुरुङले “३६ वर्षसम्म हतकडी सुरक्षाकर्मीलाई नै लगाइएको रहेछ” भन्ने अभिव्यक्ति दिएका छन्।
उनको यस भनाइले विगतमा कानुन कार्यान्वयनमा अवरोध भएको र प्रहरीमाथि दबाब रहेको संकेत गरेको बुझिएको छ।
गुरुङ गृहमन्त्री नियुक्त भएकै रात पूर्वप्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेस नेता रमेश लेखक पक्राउ परेका थिए। उनीहरू जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा पक्राउ परेका हुन्।
त्यसयता प्रहरीले भ्रष्टाचार, घरेलु हिंसा, गुण्डागर्दी लगायतका आरोपमा धमाधम कारबाही तथा पक्राउ अभियानलाई तीव्र बनाएको छ।









