
१५ चैत्र,
बाँके — जिल्ला बाँकेको नेपालगञ्ज उप-महानगरपालिका वडा नं. १२ कोरियनपुरस्थित सडकमा एक महिला जलेको अवस्थामा फेला परेपछि मृत्यु भएको घटनाले स्थानीय क्षेत्रमा सनसनी मच्चाएको छ।
प्रहरीका अनुसार मिति २०८२ चैत १४ गते राति करिब ११:३५ बजे एक महिला आगोले जलेको अवस्थामा रहेको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घटनास्थल पुगेको थियो। गम्भीर घाइते अवस्थामा भेटिएकी ती महिलालाई तत्काल भेरी अस्पताल पुर्याइएकोमा उपचारकै क्रममा चैत १५ गते बिहान १:२० बजे चिकित्सकले मृत घोषणा गरेका थिए।
अनुसन्धानका क्रममा मृतकको पहिचान सिर्जना बुढा मगर (खुलेको प्रहरीले जनाएको छ। उनी विवाहित थिइन् र उनका ४ वर्षकी छोरी रहेको समेत खुलेको छ।
प्रहरीका अनुसार मृतक विगत २ वर्षदेखि मो. आरिफ ढपाली (२४) सँग ‘लिभिङ टुगेदर’ मा बस्दै आएकी थिइन्। घटना हुनु एक दिनअघि अर्थात् चैत १३ गते आरिफले कुटपिट गरेको भन्दै प्रहरीमा उजुरी परेपछि उनलाई पक्राउ गरी हिरासतमा राखिएको थियो। पछि दुवैबीच मिलेर बस्ने सहमति भएपछि चैत १४ गते नै उनलाई छोडिएको प्रहरीले जनाएको छ।
तर, घटना मृतक बस्ने कोठा नजिक नभई आरिफको घर नजिकै भएकोले घटना रहस्यमय बनेको छ। हाल प्रहरीले आरिफ, उनकी आमा र दिदीलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक दिपक पातलीले घटनाको प्रकृति (हत्या वा आत्महत्या) बारे विभिन्न कोणबाट गम्भीर अनुसन्धान भइरहेको जानकारी दिएका छन्।
मृतकका आफन्तले जाहेरी दिइसकेको र शवको पोस्टमार्टम प्रक्रिया जारी रहेको प्रहरीले जनाएको छ। प्रहरीले सामाजिक सञ्जालमा द्वन्द्व फैलाउने खालका भ्रामक टिप्पणी नगर्न र आधिकारिक स्रोतबाट पुष्टि गरेर मात्र सूचना सम्प्रेषण गर्न सबैलाई आग्रह गरेको छ।









