
१० चैत्र,
बाँके : कोलम्बियामा सैनिक विमान दुर्घटना हुँदा कम्तीमा ६६ जनाको मृत्यु भएको छ।
उडानको केही समयमै कोलम्बियाको दक्षिणी क्षेत्रमा पेरु र इक्वेडरको सीमानजिकै ‘हर्कुलस सी–१३०’ विमान दुर्घटना भएको थियो।
गएराति भएको यो दुर्घटनामा दर्जनौँ सैनिक घाइते भएका छन् । घाइतेहरूलाई उपचारका लागि राजधानी बोगोटा र नजिकैका अस्पताल लगिएको छ।
कोलम्बियाली वायु सेनाका कमान्डर कार्लोस फर्नान्डो सिल्भाका अनुसार विमानमा १ सय १४ सैनिक र ११ चालकदलका सदस्य सवार थिए। विमानले सैनिकहरू स्थानान्तरण गर्दै थियो।
कोलम्बियाका रक्षामन्त्री पेड्रो सान्चेजले घटनालाई देशका लागि दुखदायी भएको बताएका छन्। उनका अनुसार विमानमा आगलागी हुँदा सेनाका गोला बारुद पड्केर घटना भयावह भएको हो। विमान उडेर करिब डेढ किलोमिटर पर पुग्नासाथ दुर्घटनाग्रस्त भएको थियो।









