
२५ फागुन,
रुपन्देही । प्रतिनिधिसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्न लुम्बिनी प्रदेश सभाबाट राजीनामा दिएका चार जनामध्ये एक जना मात्रै सफल भएका छन् भने अन्य तीन जना प्रमुख प्रतिस्पर्धामा समेत आउन नसकी चौथो, पाँचौ र छैटौँमा सीमित भएका छन् । एक जनाको त जमानत नै जफत भएको छ । दाङबाट प्रदेश सभा सदस्य रहेका नेपाली कम्युनिस्ट पार्टीका धनबहादुर मास्की, बर्दियाबाट प्रदेश सदस्य निर्वाचित उज्यालो नेपाल पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टीका सांसद बनेका कन्हैया बानियाँ र बाँकेको क्षेत्र नं १ बाट २०७९ मा निर्वाचित कृष्णा केसी नमुना डेढ वर्ष अवधि बाँकी छँदै राजीनामा दिएर प्रतिनिधि सभाको उम्मेदार बनेका थिए ।
उनीहरुमध्ये बानियाले मात्रै जिते भने अरु मुख्य प्रतिस्पर्धामै आउन सकेनन् । बाँकेकी नमुना केसीको जमानतसमेत जफत भएको छ । उनले ८ सय ७३ मत पाएकी छन् ।
२०७९ को प्रदेशसभा निर्वाचनमा रूपन्देही–४ को १ बाट तत्कालीन लोसपाबाट निर्वाचित कन्हैया बानियाँ उम्मेदार मनोनयनअघि राजीनामा दिएर रास्वपा प्रवेश गरेका थिए। लोकतान्त्रिक समाजवादी पार्टीबाट उनी प्रदेशसभा सदस्य निर्वाचित थिए । तर रास्वपा प्रवेश गरेर रूपन्देही–४ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका उनी एमालेका प्रमोद यादवलाई पराजित गर्दै प्रतिनिधि सभामा पुगेका छन् । अहिलेको भूमिका फेर्नुपर्ने बेला भएकाले प्रदेशको जिम्मेवारी छाडेर संघतर्फ अग्रसर भएकामा सफल भएको उनले बताए । जेन्जीको भावना र बालेन्द्र शाहलाई प्रधानमन्त्री बनाउन रूपन्देहीको मर्चवारको पनि योगदान देखियोस् भनेर पद छाडेको र जनताले साथ दिएको उनको भनाइ छ ।
तत्कालीन माओवादीबाट प्रदेश सांसद बाँकेकी कृष्णा केसी पनि राजीनामा दिएर प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकी थिइन् । प्रदेशको पूर्वमन्त्री रहेकी उनी निकै कम मतका साथ छैटौँ स्थानमा सीमित मात्रै भइनन्, जमानत जफत भएको छ । तत्कालीन नेकपा माओवादीबाट दाङ २ को २ बाट निर्वाचित धनबहादुर मास्की नेकपाबाट संघीय उम्मेदवार बनेका थिए । प्रदेशको पूर्वमन्त्री रहेका उनी ९ हजार ३ सय २८ मतका साथ चौथो स्थानमा समेटिएका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट बर्दिया–२ को २ मा निर्वाचित धर्मबहादुर चौधरीले पद छाडेर उज्यालो नेपाल पार्टीबाट बर्दिया–२ मा उम्मेदवार बनेका थिए । प्रदेशको पूर्वमन्त्री रहेका उनले ४ हजार ४ सय ७२ मत मात्रै ल्याएर पाँचौँ स्थानमा पुगेका छन् । उनी उनेपाको महासचिवसमेत हुन् । संघीयता नाम मात्रको भएर सबै केन्द्रमै निर्भर भएकाले जनताको माग सुनिश्चित गर्न प्रदेशसभाबाट राजीनामा दिएको बताएका चौधरीले नतिजापछि प्रतिक्रिया दिएका छैनन् ।
साढे १ वर्ष समय रहँदै जिम्मेवारी बीचमै छाडेको आलोचना खेपेका उनीहरुलाई न पुरानो पद न नयाँ संसद भएको भन्दै सामाजिक सन्जालमा आलोचना भइरहेको छ । त्यसैगरी बाँकेको नेपालगन्ज उपमहानगरका उपप्रमुख कमरुद्दिन राईले पदबाट राजीनामा दिएर उपेन्द्र यादवको जसपा नेपालबाट बाँके–२ मा उम्मेदवारी दिएका थिए । जसपा नेपालबाटै उपप्रमुख चुनिएका उनले पार्टीको योजनामौ बीचमै छाडेर निर्वाचन लडेका हुन् । तर निकै कम मतका साथ उनी पछाडि परेका छन् ।








