
२५ फागुन,
बाँके । भारत राष्ट्रिय क्रिकेट टोली ले न्युजिल्याण्ड राष्ट्रिय क्रिकेट टोली लाई पराजित गर्दै ट्वान्टी–२० विश्वकपको उपाधि जितेको छ। अहमदाबादस्थित नरेन्द्र मोदी क्रिकेट स्टेडियम मा आइतबार सम्पन्न फाइनलमा भारतले न्युजिल्याण्डलाई ९६ रनले हराउँदै कीर्तिमानी तेस्रो पटक टी–२० विश्वकप जित्न सफल भएको हो।
साबिक विजेता भारतले लगातार दोस्रो पटक उपाधि उचाल्दै नयाँ इतिहास समेत रचेको छ। घरमै आयोजना भएको विश्वकपमा च्याम्पियन बन्ने पहिलो राष्ट्र पनि भारत बनेको छ।
भारतले दिएको २५६ रनको विशाल लक्ष्य पछ्याएको न्युजिल्याण्ड १९ ओभरमा अलआउट हुँदै १५९ रनमै समेटियो। न्युजिल्याण्डका लागि ओपनर टिम साइफर्ट ले सर्वाधिक ५२ रन बनाए। उनले २६ बलमा २ चौका र ५ छक्का प्रहार गरेका थिए। कप्तान मिचेल स्यान्टेनर ले ३५ बलमा ४३ रन जोडे।
भारतका लागि जसप्रित बुमराह ले ४ विकेट लिए भने अक्षर पटेल ले ३ विकेट लिएर न्युजिल्याण्डको इनिङ ध्वस्त पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २५५ रनको विशाल योगफल तयार गरेको थियो। भारतका लागि सञ्जु स्यामसन ले सर्वाधिक ८९ रन बनाए। उनले ४६ बलमा ५ चौका र ८ छक्का प्रहार गरे।
पहिलो विकेटका लागि अभिषेक शर्मा र स्यामसनले ४३ बलमा ९८ रनको उत्कृष्ट साझेदारी गरेका थिए। शर्मा २१ बलमा ६ चौका र ३ छक्काको सहयोगमा ५२ रन बनाएर आउट भए।
तेस्रो विकेटका लागि स्यामसनले इशान किशन सँग ४८ बलमा १०५ रनको शतकीय साझेदारी गरे। किशनले ४ चौका र ४ छक्काको सहयोगमा ५४ रन जोडे।
न्युजिल्याण्डका लागि जिम्मी निशम ले ३ विकेट लिए भने रचिन रविन्द्र र म्याट हेनरी ले समान १–१ विकेट लिए।
दोस्रो पटक टी–२० विश्वकपको फाइनल पुगेको न्युजिल्याण्ड फेरि पनि उपविजेतामै सीमित भयो। यसअघि २०२१ को फाइनलमा न्युजिल्याण्ड अस्ट्रेलिया राष्ट्रिय क्रिकेट टोली सँग पराजित भएको थियो।
यससँगै भारत टी–२० विश्वकप लगातार दुई पटक जित्ने पहिलो राष्ट्र समेत बनेको छ। सन् २०२४ मा अमेरिका र वेस्ट इन्डिज मा भएको विश्वकपमा पनि भारत च्याम्पियन बनेको थियो, जहाँ फाइनलमा भारतले दक्षिण अफ्रिका राष्ट्रिय क्रिकेट टोली लाई पराजित गरेको थियो।












