सुर्खेत, दीपेन्द्र कुमार पौडेल :
कर्णाली प्रदेशको सुर्खेत जिल्ला अन्तर्गत वीरेन्द्रनगर नगरपालिका–१४ मा अवस्थित सिद्धपाइला मन्दिर प्राचीन शक्तिपीठका रूपमा परिचित छ। धार्मिक आस्था, प्राकृतिक सौन्दर्य र ऐतिहासिक महत्व बोकेको यो स्थल पछिल्लो समय भक्तजनको आकर्षणको केन्द्र बन्दै गएको छ।

धार्मिक विश्वास अनुसार सत्ययुगमा भगवान शिवले सतीदेवीलाई बोकेर ब्रह्माण्ड परिक्रमा गर्ने क्रममा यहाँ पाइला परेको मान्यता रहेको छ। सोही कारणले यस स्थानलाई सिद्धपाइला शक्तिपीठका रूपमा पूजाआजा गर्ने परम्परा रहँदै आएको स्थानीयवासी बताउँछन्। स्थानीय जनविश्वास अनुसार यस क्षेत्रमा तीन स्थानमा पाइला परेको मानिन्छ र क्रमिक रूपमा मन्दिर निर्माण तथा पूजा–विधि व्यवस्थित गर्ने पहल पनि भइरहेको छ।

विशेषगरी खडेरी परेको समयमा यहाँ विशेष पूजा–आराधना गरिने परम्परा रहेको छ। विधिपूर्वक पूजा गरेपछि वर्षा हुने विश्वासका कारण गाउँ–बस्तीका मानिसहरू सामूहिक रूपमा मन्दिरमा भेला भई पूजा गर्ने गरेका छन्। साथै, प्रत्येक वर्ष जेठ महिनाको पहिलो सोमबार र मंगलबार यहाँ विशेष पूजा गरिने चलन रहेको छ।

भक्तजनका अनुसार मन्दिर परिसरमा पुग्नेबित्तिकै शरीरमा विशेष शक्ति र कम्पन महसुस हुने तथा मानसिक शान्ति प्राप्त हुने अनुभव हुने बताइन्छ। यहाँ पूजा–अर्चना गर्दा आत्मिक शक्ति बढ्ने विश्वास समेत रहेको छ।

धार्मिक तथा सांस्कृतिक दृष्टिले महत्वपूर्ण मानिएको सिद्धपाइला शक्तिपीठमा वर्षभरि भक्तजनको आवतजावत हुने गरेको छ भने विशेष पर्व तथा अवसरमा ठूलो संख्यामा दर्शनार्थी आउने गरेका छन्। यस क्षेत्रको संरक्षण र विकास गर्न सकेमा भविष्यमा धार्मिक पर्यटनको महत्वपूर्ण गन्तव्य बन्न सक्ने स्थानीयको विश्वास छ

प्रतिक्रिया

सम्बन्धित ख