
१५ फागुन,
बाँके । सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को लिखित तथा प्रयोगात्मक परीक्षामा घुस/रिसवत लिई परीक्षार्थीलाई अवैध रूपमा उत्तीर्ण गराउने संगठित भ्रष्टाचार प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ठुलो कारबाही अघि बढाएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग ले यातायात व्यवस्था कार्यालय नेपालगञ्ज, बाँकेमा कार्यरत कर्मचारी, ट्राफिक प्रहरी र विभिन्न ड्राइभिङ सेन्टरका सञ्चालकसमेत संलग्न रहेको पाई विस्तृत अनुसन्धानपछि विशेष अदालतमा आरोपपत्र दायर गरेको हो।
लाइसेन्स परीक्षामा सेटिङ मिलाई घुस लिएर उत्तीर्ण गराउने र नक्कली सवारी चालक अनुमतिपत्रसमेत वितरण गरी मासिक ३ करोड रुपैयाँभन्दा बढी रकम असुल्ने गरिएको भन्ने सूचनाका आधारमा आयोगको टंगालस्थित कार्यालय र बुटवल सम्पर्क कार्यालयको संयुक्त टोली खटिएको थियो। टोलीले २०८१ चैत २७ गते यातायात व्यवस्था कार्यालय नेपालगञ्जबाट कम्प्युटर अपरेटर शक्ति ठाकुर, सहायक कम्प्युटर अपरेटर (ज्यालादारी) मनोज गिरी, घरेलु तथा साना उद्योग कार्यालय नेपालगञ्जमा कार्यरत नायब सुब्बा मुकुन्दराज के.सी. तथा मामा भान्जा मोटर ड्राइभिङ सेन्टरका सञ्चालक शरद कुमार गोराथोकीलाई विभिन्न स्थानबाट नियन्त्रणमा लिई विद्युतीय उपकरण बरामद गरेको थियो।
अनुसन्धानबाट सवारी तथा यातायात व्यवस्था ऐन, २०४९, सवारी तथा यातायात व्यवस्था नियमावली, २०५४, लुम्बिनी प्रदेशको सडक सवारी, यातायात तथा परिवहन ऐन, २०७६ लगायतका कानुनी व्यवस्था तथा परीक्षा सञ्चालन कार्यविधि निर्देशिका २०७७ विपरीत कार्य भएको पुष्टि भएको छ।
लिखित तथा प्रयोगात्मक परीक्षा सञ्चालन, नतिजा प्रकाशन र लाइसेन्स वितरणसम्मका सम्पूर्ण प्रक्रिया कानुनअनुसार गर्नुपर्ने कर्तव्य हुँदाहुँदै कार्यालयका तत्कालीन प्रमुखहरू लोकबहादुर सुनार, रमेशबहादुर बुढाथोकी, दिनेश सिंह ठाकुर, रविन्द्र के.सी. लगायत दर्जनौं अधिकृत, नायब सुब्बा, कम्प्युटर अधिकृत, मेकानिकल सुपरभाइजर र कार्यालय सहयोगीहरू संलग्न रहेको आरोप छ।
त्यस्तै जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका तत्कालीन प्रहरी निरीक्षक पुष्करराज पन्त, प्रहरी वरिष्ठ नायब निरीक्षकहरू नन्दकुमार पोखरेल, प्रविण आचार्य तथा प्रहरी सहायक निरीक्षक दमन विक्रम सेनसमेत मुछिएका छन्।
अनुसन्धानले देखाएअनुसार न्यू मामा भान्जा मोटर ड्राइभिङ ट्रेनिङ सेन्टरका सञ्चालक शरद कुमार गोराथोकी, न्यू स्वर्गद्धारी ड्राइभिङ सेन्टरका चिरञ्जिवी पोखरेल, रेसुङ्गा मोटर ड्राइभिङ प्रशिक्षण केन्द्रका माधव पोखरेल, शुभ स्वस्तिक ड्राइभिङ स्कुल प्रा.लि.का प्रमोदकुमार देवकोटा, राजकुमार ड्राइभिङ सेन्टरकी सीता श्रेष्ठ, मोतिकला भण्डारी तथा कृष्णप्रसाद सुवेदीसमेत बिचौलियाको भूमिकामा सक्रिय थिए।
उनीहरूले परीक्षार्थीको नाम, Applicant ID, लाइसेन्स वर्ग, नगदी रसिद लगायतका विवरण कर्मचारीहरूसँग पूर्व योजनाअनुसार आदानप्रदान गर्दै ‘सेटिङ’ मिलाउने गरेको पाइएको छ।
फरेन्सिक परीक्षण प्रतिवेदनअनुसार मोटरसाइकल लाइसेन्सका लागि १० हजारदेखि १२ हजार रुपैयाँ, कार तथा अन्य साना सवारीका लागि १५ हजारदेखि २२ हजार रुपैयाँ, ट्रक/बसका लागि २४ हजार रुपैयाँसम्म घुस लिइने गरेको पुष्टि भएको छ।
शक्ति ठाकुर र मनोज गिरीबीच लाइसेन्स वर्गअनुसार हिसाब राख्ने, संलग्न कर्मचारीको नाम र संख्याअनुसार रकम बाँडफाँड गर्ने तथा ह्वाट्सएप च्याटमार्फत विवरण आदानप्रदान गर्ने गरेको प्रमाण भेटिएको आयोगले जनाएको छ। QR कोडको फोटो आदानप्रदान गरी रकम व्यवस्थापनसमेत गरिएको अनुसन्धानबाट खुलेको छ।
प्रयोगात्मक परीक्षाको विशेषज्ञ टोलीका संयोजकसमेत रहेका शक्ति ठाकुरले अन्य प्रतिवादीसँग मिलेमतो गरी परीक्षार्थीलाई अवैध रूपमा उत्तीर्ण गराएको आरोप छ। परीक्षार्थीको विवरण परीक्षा अगावै सम्बन्धित कर्मचारीलाई पठाई प्रभाव, दबाब वा प्रलोभनमा पारेर उत्तीर्ण गराइने गरिएको थियो।
घुसबाट संकलित ठूलो रकम शक्ति ठाकुर, मुकुन्दराज के.सी., मनोज गिरी लगायतले शरद कुमार गोराथोकीमार्फत परिचालन र व्यवस्थापन गर्ने गरेको आयोगको दाबी छ।
उक्त कार्यले परीक्षा प्रणालीको मर्यादा भंग गरी सार्वजनिक सेवामा भ्रष्टाचार गरेको ठहर गर्दै आयोगले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ बमोजिम सजाय मागदाबी सहित विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरेको जनाएको छ।
यस प्रकरणले यातायात कार्यालय र लाइसेन्स प्रणालीप्रति गम्भीर प्रश्न उठाएको छ। अनुसन्धान र न्यायिक प्रक्रियापछि दोषी ठहर भए सम्बन्धित व्यक्तिहरूलाई कानुनबमोजिम कारबाही हुने आयोगले जनाएको छ।
प्रतिवादी र बिगो रकम हेर्न तल रहेको लिंकमा क्लिक गर्नुहोस












