
२० मंसिर,
✍🏻सुरज राजवंशी/ बाँके । जनजाति कल्याण आश्रम नेपालद्वारा संचालित आमाको माया छात्रावास नेपालगञ्जको चौथो वार्षिकोत्सव शनिबार बाँकेको नेपालगञ्ज–परसपुरस्थित छात्रावासको आफ्नै प्रांगणमा भव्य रूपमा सम्पन्न भएको छ ।

कार्यक्रममा जनजाति कल्याण आश्रम नेपालका महासचिव प्रेम थुलुङले छात्रावासको योगदान र विस्तारबारे प्रस्तुति दिएका थिए। उनका अनुसार देशभर सञ्चालनमा रहेका ११ वटा आमाको माया छात्रावासमा करिब ३०० विद्यार्थी अध्यनरत छन्। तीमध्ये नारायणगढमा बालिकाहरूका लागि समेत छात्रावास रहेको उल्लेख गर्दै उनले छात्रावासमार्फत संस्कारसहितको उच्च शिक्षाले विभिन्न क्षेत्रमा दक्ष कार्यकर्ता तयार हुँदै आएको बताए। साथै, जनजाति शिक्षा–संस्कार केन्द्र तथा खेलकुद क्षेत्रमा रुचि राख्नेहरूका लागि खेलकुद केन्द्र पनि सञ्चालनमा रहेको जानकारी दिए।
कार्यक्रममा आमाको माया छात्रावास नेपालगञ्जका अध्यक्ष आशीष अग्रवालले सहयोगदाताहरूलाई धन्यवाद दिँदै आगामी दिनमा पनि यस पुण्यकार्यमा निरन्तर साथ–सहयोग रहिरहने विश्वास व्यक्त गरे। साथै अरुले समेत यस पुण्यकार्यमा सहयोग गर्न आग्रह गरे ।

कार्यक्रमका मुख्य अतिथि भारतका वनवासी कल्याण आश्रमका अखिल भारतीय संगठन मन्त्री अतुल जोगले जनजाति कल्याण आश्रम नेपालले गर्दै आएको कार्यको प्रशंसा गर्दै छात्रावास केवल अध्ययनको केन्द्र मात्र नभई सामाजिक रूपान्तरण र भविष्यका कर्मशील कार्यकर्ता निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताए। जनजाति कल्याण आश्रम कुनै एनजीओ नभई जनजाति समुदायको सामाजिक उत्थानमा समर्पित संस्था भएको उनले स्पष्ट पारे।

कार्यक्रममा नेपालगंज छात्रावासकी कोषाध्यक्ष दीपिका थापा अधिकारीले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरिन्। उनका अनुसार सो वर्षमा ३ लाख ८६ हजार १ सय ४० रुपैयाँ नगद तथा २ लाख ४ हजार ७ सय ५० रुपैयाँ बराबरको जिन्सी संकलन भई कुल ५ लाख ९१ हजार ७३ रुपैयाँ खर्च भएको जानकारी दिइयो।

कार्यक्रमसँगै छात्रावासको नयाँ कार्यसमिति गठन गरिएको छ, जसमा संजय अग्रवाल सर्वसम्मत रूपमा अध्यक्ष चयन भएका छन्।
सामाजिक सुविधाबाट वञ्चित जनजाति समुदायका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले जनजाति कल्याण आश्रमले देशभर ११ वटा आमाको माया छात्रावास सञ्चालन गरिरहेको छ।









