हिजो राति कोहलपुर नगरपालिका–१४ हवल्दारपुरमा भएको एक दर्दनाक सडक दुर्घटनामा एक युवा फर्मासिस्ट सरोज मरासैनीको ज्यान गएको छ। महिनौँदेखि अत्यन्त सुस्त गतिमा निर्माणाधीन रहेको सडकमा भएको खाडल र अराजक व्यवस्थापनका कारण उनी दुर्घटनामा परेका हुन्।

नेपालगञ्जबाट घर फर्कंदै गर्दा घट्यो दुर्घटना
रझेना निवासी ३० वर्षीय मरासैनी नेपालगञ्जबाट मोटरसाइकलमा घर फर्कंदै थिए। तर, हवल्दारपुरस्थित निर्माणाधीन सडक खण्डमा खनेका खाडल र चेतावनी बोर्डको अभावका कारण उनी गम्भीर दुर्घटनामा परे। प्रत्यक्षदर्शीका अनुसार घटनास्थलमा हिजो मात्र गिट्टी छरिएको थियो, तर कुनै संकेत चिन्ह, बोर्ड वा सावधानी अपनाउनुपर्ने सूचनाहरु थिएनन्।

योग्य, कर्मशील युवा गुमायो समाजले
राजिव गान्धी युनिभर्सिटी, भारतबाट बी. फार्मेसी अध्ययन गरेका मरासैनी हाल रिलायन्स कम्पनीमा बजार प्रतिनिधिका रुपमा कार्यरत थिए। औषधि उत्पादन र जनस्वास्थ्य सेवामा समर्पित एक प्रतिभाशाली युवा यसरी अकालमै गुमाउनु समाजका लागि अपूरणीय क्षति हो।

लापरवाहीको कारक — निर्माण कम्पनी र सडक विभाग
स्थानीयवासी र सरोजका परिवारजनले सडक निर्माण कार्यमा खटिएको “माँ त्रिपुरा सुन्दरी पञ्चकोशी जेभी” र सडक विभाग नेपालगञ्ज, बाँकेको चरम लापरवाहीलाई दोषी ठहर गरेका छन्। महिनौं देखि अलपत्र पारिएको निर्माण, रातको समयमा अँध्यारोमा चेतावनी संकेतको अभाव, र खतरनाक अवस्थामा छाडिएका खाडलहरुले मानवीय क्षतिको न्यौपचारणीय मूल्य चुकाउनुपरेको छ।

न्यायको माग र जिम्मेवार निकायप्रति प्रश्न
सरोज मरासैनीको निधनले समाजमा शोकको छाया मात्र फैलाएको छैन, प्रश्न पनि उठाएको छ— के निर्माण कम्पनीको लापरवाही र प्रशासनको निरीहताले यस्ता घटना बारम्बार दोहोरिनुपर्ने हो?
स्थानीय नागरिकले पीडित परिवारलाई न्याय दिलाउन र दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरेका छन्।

हामी दिवंगत आत्मा सरोज मरासैनीप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दछौं।
बाँके अपडेट मिडिया

प्रतिक्रिया

सम्बन्धित ख