२४ पुस,

बाँके । क्यानाडाको राजनीतिक क्षेत्रबाट आएको एउटा खबरले अहिले दुनियाँभरको ध्यान तानेको छ। जनताको असन्तुष्टि बढेपछि त्यहाँका प्रधानमन्त्रीले स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिएका छन्। यो खबरले नेपाली समाजमा गहिरो सोच र तुलना गर्न बाध्य बनाएको छ।

क्यानाडाका प्रधानमन्त्रीले जनताको चाहनालाई सर्वोपरि मानेर आफ्नो पद त्यागेको यो घटना जनमुखी लोकतन्त्रको उत्कृष्ट उदाहरण हो। यो कदमले सत्ता केवल कुर्सीमा टिकिरहने माध्यम होइन, जनताको सेवाका लागि जिम्मेवारी भएको तथ्यलाई पुनः पुष्टि गरेको छ।

यस घटनाले नेपाली समाजमा नयाँ बहस सुरु गराएको छ। हाम्रो देशमा सत्ता टिकाउन हरेक प्रकारका उपायहरू अपनाइन्छन्। जनताले सत्तारूढ नेताहरूलाई असन्तुष्टि जनाए पनि उनीहरू सत्तामा टाँसिएर बसेको देखिन्छ। सत्ता गुम्ने डरले राजनीतिज्ञहरू आलोचना, सत्तोसराप, र जनदबावलाई बेवास्ता गर्छन्।

नेपालमा सत्ता गुमाउनु भनेको व्यक्तिगत प्रतिष्ठा गुमाउनु जस्तो मानिन्छ। यही कारण नेताहरू सत्ता गुम्न नदिन अनेक तिकडम लगाउँछन्।जनताले बारम्बार असन्तुष्टि जनाए पनि, नेताहरूले आफ्नो पदबाट हट्नुलाई पराजयको संकेत ठान्छन्।पदमा रहिरहन हरेक गलत काम गर्ने प्रवृत्तिले देशको प्रगतिको बाटो अवरुद्ध गरेको छ।

क्यानाडाका प्रधानमन्त्रीको राजीनामा एउटा महत्वपूर्ण सन्देश दिन्छ– पदभन्दा जनताको विश्वास ठूलो हुन्छ। यो कदमले स्पष्ट पार्छ कि सत्ता टिकाउन जनताको सेवाभाव र पारदर्शिता अपरिहार्य छ।नेपाली नेताहरूले यो घटनाबाट पाठ सिक्न जरुरी छ। कुर्सीमा टाँसिएर बस्नु मात्र नेतृत्व होइन। यदि जनताले अस्वीकार गरेका छन् भने, सत्तालाई जबर्जस्ती थामिरहनु लोकतन्त्रको मर्मविपरीत हो।

क्यानाडाका प्रधानमन्त्रीको राजीनामा एउटा उदाहरण हो, जसले लोकतन्त्रमा जनताको चाहना र असन्तोषलाई प्राथमिकता दिनुपर्ने देखाएको छ। नेपालमा पनि यस्तै नेतृत्व र जिम्मेवारीको संस्कृति विकास हुनुपर्छ। सत्ता भनेको जनताको सेवाका लागि हो, सत्ताको किर्नो बनेर कुर्सीमा अड्किरहने माध्यम होइन।

प्रतिक्रिया

सम्बन्धित ख