१७ पुस,

बाँके । एक वर्षको अवधिमा ८४ जना नयाँ कुष्ठरोगी भेटिएसँगै बाँके जिल्लामा कुष्ठरोगको उच्च जोखिममा रहेको पाइएको छ।

जानकी गाउँपालिका–३ मा अवस्थित आइएनएफद्वारा सञ्चालित साइनिङ अस्पतालमा गत आर्थिक वर्ष २०८०।८१ मा १४६ जना नयाँ कुष्ठरोगी पहिचान हुँदा बाँकेका मात्रै ८४ विरामी रहेका छन्। साइनिङ अस्पतालका प्रमुख मङ्गलबहादुर थारूले नयाँ पहिचान भएका कुष्ठरोगीमा बाँकेका ८४, बर्दियाका २४, भारतका २१, सुदूरपश्चिमका पाँच, रुकुमका चार, सल्यानका तीन तथा दैलेख, सुर्खेत, जाजरकोट, रोल्पा र हुम्लाका एक/एकजना रहेको जानकारी दिए।

पहिचान भएकामध्ये ३९ प्रतिशत विरामीमा कुष्ठरोगको कीटाणु पोजिटिभ रहेको थियो। विरामीलाई उपचारका लागि विभिन्न स्वास्थ्य संस्थामा पठाइएको उनले बताए। अस्पतालले आफ्नो बहिरंग सेवामार्फत गत आवमा १७ हजार २६५ जनालाई सेवा प्रदान गरेको थियो। साइनिङ अस्पतालले कुष्ठरोग सेवा विस्तार गर्दै पश्चिम क्षेत्रको कुष्ठरोग प्रेषण केन्द्रका रूपमा आफूलाई स्थापित गरिरहेको थारूले बताए।

अस्पतालले कुष्ठरोगीको पहिचान, अपांगता रोकथाम तथा उपचार, कुष्ठरोग सम्पर्क परीक्षण, समुदायस्तरमा छाला तथा कुष्ठरोग पहिचान शिविर, स्वास्थ्यकर्मीका लागि क्षमता अभिवृद्धि तालिम, समुदायमा कुष्ठरोग सचेतना कार्यक्रम, निःशुल्क उपचार सेवालगायत गतिविधि गरिरहेको प्रमुख थारूले जानकारी दिए।

गत आवमा प्रयोगशाला परीक्षणमा कुष्ठरोग पहिचानसम्बन्धी ‘स्लिट स्किन स्मिएर’ जाँच ८३८ र अन्य प्रयोशाला परीक्षण ११ हजार ३१८ रहेको थियो। सन् १९९६ मा नेपालगञ्ज टिबी रेफरल केन्द्रको नामबाट सेवा सुरु गरी हाल जानकी गाउँपालिका–३ मानपुरमा साइनिङ अस्पतालले कुष्ठरोगीको उपचार गर्दै आएको आएको अस्पताल प्रमुख थारूको भनाइ छ।

जानकी गाउँपालिकाका स्वास्थ्य शाखा संयोजक दलबहादुर रानाले समाजमा आइएनएफले कुष्ठरोग निवारण कार्यक्रममा सहयोग पुग्ने गरी सेवा प्रवाह गरेको जानकारी दिँदै अझै पनि कुष्ठरोगको प्रभाव रहेकाले निवारणमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अंगद शाहीले आइएनएफले कुष्ठरोग नियन्त्रणमा ठूलो योगदान गर्दै आएको उल्लेख गरे। गाउँ गाउँमा आमा समूह, बालबालिकालाई समेत कुष्ठरोगबारे सचेतना पुर्‍याउनेदेखि साइनिङ अस्पतालमा सहज रूपमा बिरामीको उपचार हुने गरेकामा उनले प्रशंसा गरे ।

 

प्रतिक्रिया

सम्बन्धित ख