
नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरलाई हटाएर आईजीपी हुने दौडमा रहेका एआईजीद्वय श्यामलाल ज्ञवाली र भीमप्रसाद ढकालको नागरिकताको जन्ममितिकै विवाद कायम रहेको छ । उनीहरुको जन्ममितिका आधारमा उनीहरुको प्रहरी सेवामा प्रवेश गरेको नै नियम संगत नभएको देखिन्छ । तर जन्ममितिमै विवाद भएका ज्ञवाली र ढकाल आईजीपी हुने खेलमा संगठन नै कमजोर बनाउन तल्लीन भएर लागेको आरोप उनिहरु माथि लाग्दै आएको छ।
नागरिकतामा अनेक थरी जन्ममिति भएका एआईजीद्वय ज्ञवाली र ढकालको पहिलो प्रयास ३० बर्षे सेवावधि हटाउनेमै रहेको देखिन्छ । त्यसपछि आईजीपी हुने दाउमा श्यामलाल ज्ञवाली छन् ।एआईजी ज्ञवाली र ढकालको जन्ममिति विवाद यसअघि नै अख्तियार दुरुपयोग अनुसन्धान आयोगसम्म पुगिसकेको थियो। आईजीपी कुँवरलाई हटाउने र महानिरीक्षक बन्ने खेलमा लागेका श्यामलाल ज्ञवालीको जन्ममितिमा पाँच महिना ५ दिनको अन्तर छ । उनको नागरिकतामा २१ चैत २०२४ उल्लेख गरिएको छ भने शैक्षिक प्रमाणपत्रमा २६ भदौ २०२५ उल्लेख गरिएको छ । ज्ञवालीले ५ चैत २०५१ मा प्रहरी निरीक्षकबाट एकसाथ सेवा सुरु गरेका थिए । २०२४ को नागरिकता त प्रहरीको कर्मचारी प्रशासन शाखाको अभिलेखबाटै गायब पारिसकेको आरोप ज्ञवाली माथि लाग्ने गरेको छ । उपत्यका प्रहरीको प्रमुख हुँदा भूटानी शरणार्थी प्रकरणमा स्वकीय सचिव राजेश बज्राचार्यको नाम मुछेपछि एमाले अध्यक्ष केपी शर्मा ओली एआईजी ज्ञवालीसँग रुष्ट छन् ।
ओलीसँगको दूरी घटाउनका लागि एक साताअघि एक दिन बेलुका एमाले उपाध्यक्ष बिष्णुप्रसाद पौडेललाई लिएर ज्ञवाली बालकोट पुगेका थिए । बालकोटमा ३० बर्षे हटाउने बिषयमा ओलीको सकारात्मक जवाफ नपाएपछि श्यामलाल ज्ञवालीले कोशी प्रदेशतिरै घर भएका मानवस्रोत विभागका एआईजी भीमप्रसाद ढकाललाई बालकोट मिलाउन खटाएका छन् । स्रोतका अनुसार ढकालको दैनिकी पछिल्ला दिनमा बालकोटका निकट नेताहरु भेट्ने र प्रहरीको ३० बर्षे सेवावधि हटाउन लबिङ गर्ने गरेको आरोप लाग्दै आएको छ।
भीम ढकालको नागरिकता नै संशोधन गरिएको पाइएको छ । राष्ट्रिय किताबखानाका अनुसार उनको नागरिकताको अगाडिपट्टीको भागमा २०२४ साल मंसिर २८ लेखिएको थियो भने सोही नागरिकताको पछाडिपट्टिको भागमा २०२५ साल मंसिर २८ लेखेर प्रमुख जिल्ला अधिकारीले संशोधन लेखेको पाइन्छ। सो विवरण अहिले राष्ट्रिय किताबखानामा उपलब्ध नभएको स्रोतले बताएको छ। ढकालले २०२४ मा भोजपुर जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए। पछि मोरङबाट जन्ममिति सच्याएर २०२५ बनाएर प्रतिलिपि लिएका थिए। ढकालले पनि प्रहरीको कर्मचारी प्रशासनमा रहेको अभिलेख(ड्रोसियर)बाट पुरानो आफ्नो नागरिकता गायब गरिसकेका छन् भन्ने आरोप छ।नागरिकता लिएको वर्षको मात्रै हिसाब गर्ने हो भने भीम ढकाल प्रहरी निरीक्षकका लागि आवेदन दिँदा २५ वर्ष ४ महिना ३ दिनका थिए भने यो आधारमा उनी सेवा प्रवेशकै लागि अयोग्य देखिन्छन् ।
२०५१ चैत ५ मा प्रहरी निरीक्षकको नियुक्ति पाएका उनीहरूको आवेदन भने २०५० मंसिर १३ मा खुलेको थियो ।
डीआईजी ज्ञवालीको नागरिकता र शैक्षिक प्रमाणपत्रको जन्ममितिबारे अनुसन्धान गरी पाऊँ भन्दै धनगढीका शेरबहादुर चन्दले २०७९ फागुनमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत दिएका थिए । तर उजुरी परेको एक महिनामै जन्ममिति विवाद भए पनि उनले आयोगबाट क्लीनचिट लिएका थिए । भूटानी शरणार्थी काण्डको छानबिनका क्रममाअख्तियारसँग सौदाबाजी गरेर उनले क्लीनचिट पाएको प्रहरीमा चर्चा हुने गरेको छ ।









