
२३ कार्तिक,
बाँके । नेपाल क्रिकेट संघ (क्यान) ले हङकङमा हुने चार देश सम्मिलित महिला टी-२० सिरिजका लागि आज १४ सदस्यीय नेपाली महिला टिमको घोषणा गरेको छ।
नेपाली टिमको कप्तानको जिम्मेवारी अलराउन्डर इन्दू बर्माले पाएकी छिन्। यस्तै विन्दू रावललाई उपकप्तान तोकिएको छ।
नियमित कप्तान रुबिना क्षेत्रीले टी-२० सिरिजअघि हङकङमै वुमन्स अल स्टार्स टी-२० सिरिज खेल्दैछिन्। सिरिजमा अलराउन्डर सीता रानामगरले पनि प्रतिस्पर्धा गर्नेछिन्। दुवै खेलाडी बिहीबार हङकङ प्रस्थान गरेका छन् भने सिरिज खेलेपछि नेपाली टिममा समावेश हुनेछन्।
नेपालले कात्तिक २९ देखि मङ्सिर ३ गतेसम्म हङकङमा हुने टी-२० सिरिजमा प्रतिस्पर्धा गर्न लागेको हो।






