
२४ फागुन,
बाँके । बाँकेको जानकी गाउँपालिकाले पनि आज ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाएको छ ।
लैङ्गिक समानताको बलियो आधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तारू भन्ने मूल नाराका साथ ११३औं अन्तर्राष्ट्रिय नारी दिवस मनाइएको हो ।
कार्यक्रमको पालिकाकी उपाध्यक्ष रामप्यारी यादवले नारीमाथि पहिलेदेखि नै विभेद हुँदै आएको भन्दै आफू पनि थुप्रै विभेदहरु भोगेर यो ठाउँसम्म आइपुगेको बताएकी छन । उनले आफ्नो अनुभव सुनाउँदै भनिन्, २०७४ मा जब निर्वाचन लडेँ त्यसपछि मात्रै बाहिर निक्लिन पाएकी हुँ, हाम्रो समुदायमा त महिलालाई अझ बढी विभेद गरिन्छ । उनले नारी पुरुष समान भनिएपनि जताजतै विभेद र हिंसा व्यापक रहेको समेत चर्चा गरिन् । आफ्नै गाउँपालिकामा समेत आफूले विभेद भोगेको र देखेको उनको भनाई छ । कागजमा र भनाईमा मात्र समानताको कुरा गरेर नहुने भन्दै उनले व्यवहारमै परिवर्तन देखिनुपर्नेमा जोड दिइन् ।
कार्यक्रममा गाउँपालिकाका अध्यक्ष छब्बन खाँ, प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी, वडा अध्यक्ष जगदिश प्रसाद हरिजन, कार्यपालिका सदस्यहरु, पालिकाका कर्मचरीहरु र महिलाहरुको उपस्थिति रहेको थियो । १ देखि ६ नम्वर वडाका महिलाहरुले र्याली समेत निकालेका थिए । महिला बालबालिका शाखाकी प्रमुख कल्पना गाहाले पनि धारणा राखेकी थिइन् । कार्यक्रम अघि नारी हुन्छ त परिवार हुन्छ सुन्दर जीवनको आधार हुन्छु, हिंसा सहनु पाप हो बालबालिकालाई गरौं मान यसले बढ्छ देशको शानु जस्ता प्लेकार्डसहित र्याली समेत निकालिएको थियो ।
जानकी गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा मिलाप संस्था, त्रिवेणी विकास समाज, नारी एकता महिला वचत तथा ऋण सहकारी संस्था लिमिटेड र अन्तर्राष्ट्रिय नेपाल फेलोसिपले समन्वय गरेका थिए ।






