
८ माघ,
बाँके । बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि दर्ता भएका कुल ६१ जना उम्मेदवारमध्ये एक जनाको उम्मेदवारी खारेज भएको छ।
निर्वाचन तालिकाअनुसार मनोनयनपत्रमाथि जाँचबुझ तथा निर्णय गर्ने समयभित्र निर्वाचन क्षेत्र नम्बर ३ मा एउटै दलबाट परेका दुई उम्मेदवारमध्ये एक जनाको मनोनयन खारेज गरिएको हो। जिल्ला निर्वाचन कार्यालयका अनुसार क्षेत्र नम्बर १ मा १६ जना, क्षेत्र नम्बर २ मा २२ जना र क्षेत्र नम्बर ३ मा २३ जनाले मनोनयन दर्ता गराएका थिए। जसमध्ये क्षेत्र नम्बर ३ मा एउटै दलबाट दुई जनाको मनोनयन परेको थियो।
निर्वाचन अधिकृत दशरथ गौतमका अनुसार दुई उम्मेदवारबीच भएको आपसी सहमतिअनुसार एक जनाको मनोनयन खारेज गरिएको हो। नेपाली कम्युनिस्ट पार्टीबाट कान्तुराम गौतम र दीपककुमार गौरी मगरले मनोनयन दर्ता गराएका थिए। दुवैजनाले सहमति गरी एक जनालाई आधिकारिक उम्मेदवार बनाउने निर्णय गरेपछि कान्तुराम गौतमको उम्मेदवारी खारेज गरिएको अधिकृत गौतमले जानकारी दिए।
कान्तुराम गौतम र दीपककुमार गौरी मगर दुवैले पार्टीको मनोनयनपत्रसहित निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गराएका थिए। कान्तुराम गौतम यसअघि तत्कालीन नेकपा माओवादीबाट खजुरा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्षसमेत रहिसकेका छन्।
उम्मेदवारी खारेज भएसँगै अब निर्वाचन क्षेत्र नम्बर ३ मा २२ जनाको उम्मेदवारी कायम भएको छ। निर्वाचन अधिकृत सरोजनिधि वाग्लेका अनुसार क्षेत्र नम्बर १ मा दर्ता भएका १६ जनाकै उम्मेदवारी कानुनबमोजिम कायम छ। यस्तै मुख्य निर्वाचन अधिकृत दीपककुमार दाहालले क्षेत्र नम्बर २ मा दर्ता भएका २२ जनाको उम्मेदवारी पनि वैधानिक रूपमा कायम रहेको जानकारी दिए।
यस पटक बाँकेमा प्रतिनिधि सभा सदस्यका लागि पूर्वमन्त्री, बहालवाला प्रतिनिधि सभा सदस्य, नेपाली कांग्रेसका प्रदेश तथा जिल्ला सभापति, साथै लुम्बिनी प्रदेश सभाका सांसदसमेत उम्मेदवार बनेका छन्।












