
८ माघ,
बाँके — लागू औषध कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँके र लागू औषध नियन्त्रण ब्युरो नेपालगञ्जबाट खटिएको संयुक्त प्रहरी टोलीले दुई जनालाई लागू औषधसहित पक्राउ गरेको छ।
नेपालगञ्ज उपमहानगरपालिका–१ धम्बोझी नजिक चेकजाँच गर्ने क्रममा जिल्ला बाँके नेपालगञ्ज उपमहानगरपालिका–१ बस्ने ४६ वर्षीय विशाल दुलाल र उपमहानगरपालिका–१८ बस्ने ३७ वर्षीय यूवराज रेस्मीलाई पक्राउ गरिएको हो।
उनीहरूको साथबाट शुद्ध तौल २८ ग्राम १२० मिलिग्राम लागू औषध ब्राउन सुगर जस्तो देखिने खैरो धुलो पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
त्यसैगरी प्रहरीले बाँके जिल्लाका विभिन्न स्थानबाट लत्ता कपडा, सवारी साधनका पार्टपुर्जा, खाद्यान्न सामग्री, सुर्तीजन्य पदार्थ, मोबाइल, मोबाइलका पार्ट्स तथा विद्युतीय सामग्री लगायतका सामान बरामद गरेको छ ।
बरामद गरिएका सामानहरूको अन्दाजी मूल्य रु. ९ लाख १७ हजार ९ सय ५० रुपैयाँ बराबर रहेको प्रहरीले जनाएको छ। उक्त सामानहरू आवश्यक कारबाहीका लागि भन्सार कार्यालय नेपालगञ्ज, बाँके पठाइएको प्रहरीले जनाएको छ ।












