
३० चैत्र,
बाँके । नेपाल रेडक्रस सोसाइटी बाँके जिल्ला शाखाको ४४औं जिल्ला बार्षिक साधारण सभा खजुरामा आइतवार सम्पन्न भएको छ ।
सभाको उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि खजुरा गाउँपालिकाका अध्यक्ष डम्बर बहादुर वि.क.ले विपद् व्यवस्थापनका क्षेत्रमा रेडक्रसले उदाहरणीय कार्य गरिरहेको बताउँदै आगमी दिनमा पालिकाबाट निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष विनोद कुमार शर्माले रेडक्रसको सेवा समुदायस्तरसम्म निर्वाध रुपमा प्रवाह भैरहेको बताउँदै नेपाल सरकारको वर्तमान संरचना अनुसार रेडक्रसको संशोधित विधान २०८२ मा महिलाको सहभागिता सुनिश्चित गरेको जानकारी गराउनु भयो ।
नेपाल रेडक्रस सोसाइटीका महामन्त्री मीनबहादुर मल्लले नेपाल रेडक्रसको प्रचलित विधानको बारेमा स्पष्ट पार्दै २०८३ बैशाख २६ गते ४ वटा प्रदेशमा पालिका शाखाको निर्वाचन हुने कार्यक्रम रहेको बताउनु भयो । उहाँले अबका दिनमा रेडक्रसकर्मीहरुले रेडक्रसका सिद्धान्त मुल्यमान्यता आत्मसाथ गर्दै आगाडी बढनु पर्ने कुरामा जोड दिदै लामो समय देखि नेरेसोको विधान संशोधनका लागि प्रयास भएता पनि हालै मात्र २०८२ पौष २५ गते विधान संशोधन महाधिवेशनबाट पारित भई नेपाल सरकारबाट प्रमाणिकरण भएको र सोही अनुसार रेडक्रसका गतिविधि संचालन भईरहेको कुरा उल्लेख गर्नु भयो ।
नेरेसो बाँके शाखाका सभापति गोवर्धन सिंह सम्झनाले हाल रेडक्रस लयमा फर्किएको बताउँदै स्थानीय सरकार र अन्य सरोकारवाला निकायले रेडक्रस प्रति देखाएको सदभाव र सहयोग प्रति अभार व्यक्त गर्नु भयो ।
नेरेसो बाँके शाखाका मन्त्री अजीज अहमद सिद्धिकीले आ.ब.२०८१÷२०८२ को बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै यस अवधीमा १ लाख ४९ हजार ७ सय २० जना लाभाविन्त भएको जानकारी दिँदै आगमी आ.ब.२०८३÷२०८४ को प्रस्तावित कार्यक्रम र कोषाध्यक्ष राकेशबहादुर श्रीवास्तवले आ.ब. आ.ब.२०८१÷२०८२ को लेखा परीक्षण प्रतिवेदन र आ.ब.२०८३÷२०८४ का लागि रु.३ करोड ५० लाख ३७ हजार ६ सयको बजेट प्रस्तावित बजेट पेश गर्नु भएको छ । सभासद्हरुले उक्त प्रस्तुत प्रतिवेदन माथि छलफल गरी कार्यक्रम तथा बजेट स्वीकृत गरेका थिए ।
समुदायस्तरमा रेडक्रसका मानवीय सेवा प्रवाह गरी जिल्लास्तरमा १७ उपशाखाहरू मध्ये उदाहरण प्रस्तुत गरेको नेरेसो खजुरा उपशाखालाई उत्कृष्ट सेवाको कदर स्वरूप शील्ड तथा प्रशंसा पत्र प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रममा १७ वटा उपशाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
उक्त अवधीमा नेपाल रेडक्रस सोसाइटीको यशस्कार र विशिष्ट सदस्यता प्राप्त गरेका व्यक्तिहरुलाई प्रमाण पत्र वितरण गरिएको थियो । यसैगरी जिल्ला स्तरीय हाजिरी जवाफ प्रतियोगिताका विजेताहरुलाई प्रमाण पत्र र नगद पुरस्कार प्रदान गरिएको थियो ।
नेरेसो खजुरा उपशाखाका सभापति जीवनाथ सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेरेसो बाँके शाखाकी उपसभापति शान्ति श्रेष्ठले स्वागत मन्तव्य, नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरी र नेरेसो पुरैनी उपशाखाका सभापति शिवकुमार वर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो भने कार्यक्रम संचालन नेरेसो बाँके शाखाका लेखा अधिकृत झवीलाल शर्माले गर्नु भएको थियो ।









