
२७ माघ,
बाँके । बाँके जिल्लामा चालु आर्थिक वर्ष २०८२/८३ को सात महिनाको अवधिमा भएका सवारी साधन दुर्घटनामा ३१ जनाले ज्यान गुमाएका छन्।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका अनुसार साउनदेखि माघ २५ गतेसम्म जिल्लाका विभिन्न स्थानमा कुल ६ सय ५३ वटा सवारी साधन दुर्घटना भएका छन्। ती दुर्घटनामा परेर २१ जना पुरुष, ७ जना महिला र ३ जना बालकको मृत्यु भएको ट्राफिक प्रहरी इन्चार्ज प्रहरी निरीक्षक कनकबहादुर शाहीले जानकारी दिए।
दुर्घटनामा ६६ जना गम्भीर घाइते भएका छन् भने १ हजार ३० जना सामान्य घाइते भएका छन्।
यसैगरी, चालु आर्थिक वर्षको हालसम्म ट्राफिक नियम उल्लङ्घन गर्ने १४ हजार ३ सय ८५ सवारी साधनलाई कारबाही गरिएको छ। कारबाहीबाट एक करोड १६ लाख ३१ हजार पाँच सय रुपैयाँ जरिवाना सङ्कलन भएको ट्राफिक प्रहरीले जनाएको छ।
इन्चार्ज शाहीका अनुसार मादक पदार्थ सेवन गरेर सवारी साधन चलाएका ४ सय १३ जना तथा तीव्र गतिमा सवारी साधन चलाएका ५ सय ६४ जनालाई कारबाही गरिएको छ।
ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरणका लागि सवारी चालकलाई ट्राफिक नियमको पालना गर्न र सुरक्षित यात्रामा ध्यान दिन आग्रह गरेको छ।









