१० पुस,

नेपालगञ्ज — अवैध हुण्डि कारोबारमा संलग्न रहेको आरोपमा बाँके प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्ने व्यक्ति बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ निवासी ४० वर्षीय ईरफान अहमद शेख रहेका छन्।

नेपाल राष्ट्र बैंकको वित्तीय जानकारी इकाई, बालुवाटारबाट प्राप्त सूचनाका आधारमा शेखको बैंक तथा वित्तीय संस्थामार्फत रु. ४ करोड ९२ लाख ८४ हजार २ सय ९६ रुपैयाँ बराबरको शंकास्पद कारोबार भएको पाइएको थियो। नगद रकम खातामा जम्मा हुने बित्तिकै विद्युतिय माध्यममार्फत विभिन्न व्यक्ति तथा संस्थाहरूमा रकमान्तर हुने गरेको, साथै उक्त कारोबारमा उनी स्वयं ‘कन्डक्टर’को भूमिकामा संलग्न रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

उनको KYC विवरणमा उल्लेख गरिएको अनुमानित वार्षिक आम्दानी र वास्तविक कारोबारबीच मेल नखाएको देखिएपछि हुण्डि सम्बन्धी मुद्दामा अनुसन्धान गरी कानुनी कारबाही गर्न नेपाल राष्ट्र बैंकले मिति २०८२।०४।०७ गते जिल्ला प्रहरी कार्यालय बाँकेलाई पत्राचार गरेको थियो।

सोही आधारमा शेखविरुद्ध हुण्डि सम्बन्धी मुद्दा दर्ता भई सम्मानित बाँके जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी गरिएको थियो। लामो समयदेखि फरार रहेका उनलाई शुक्रबार पक्राउ गरी आवश्यक अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रतिवादी शेखलाई पक्राउ गर्न अदालतबाट मिति २०८२।०५।३० गते अनुमति लिइएको थियो।

जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दीपक पातलीका अनुसार घटनाबारे थप अनुसन्धान जारी रहेको छ र अनुसन्धानका क्रममा थप व्यक्ति तथा सञ्जाल संलग्न रहेको पाइएमा आवश्यक कानुनी कारबाही अघि बढाइने छ।

प्रतिक्रिया

सम्बन्धित ख