
८ पुस,
काठमाडौं । विघटित संसदका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा (एमाले) संसद पुनस्र्थापनाको मागसहित पूरक रिट लिएर सर्वोच्च अदालत जाने भएका छन्। यसअघि छुट्टाछुट्टै रिट दायर गरिसकेका यी दलहरूले अब बहुमत सांसदको हस्ताक्षरसहित पूरक रिट दर्ता गर्न लागेका हुन्।
यसअघि कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच दुई पटक भेटवार्ता भइसकेको छ। मंसिर १९ गते भएको भेटपछि कांग्रेस संसद पुनस्र्थापनाको पक्षमा सर्वोच्च अदालत पुगेको थियो। हिजो भएको दोस्रो भेटले यो मुद्दा थप परिपक्व बनेको संकेत दिएको नेताहरूको भनाइ छ।
कांग्रेस सचेतक सुशीला थिङका अनुसार आज नै पूरक रिट दर्ता गरिनेछ। उनका अनुसार संसद पुनस्र्थापनाको पक्षमा कांग्रेसका ६५ जना सांसदले हस्ताक्षर गरिसकेका छन्। यस्तै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले पनि पुनस्र्थापनाको पक्षमा समर्थन जनाउने संकेत देखाएको छ।
जनमत पार्टी तथा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट तीन जना सांसदले समेत पुनस्र्थापनाको पक्षमा हस्ताक्षर गरेका छन्। एमालेतर्फ यसअघि प्रमुख सचेतक महेश बर्तौला र सचेतक सुनिता बराल मात्र रिट लिएर सर्वोच्च गएका थिए। अहिले भने एमालेका ७५ जना सांसदले पूरक रिटका लागि हस्ताक्षर गरेका छन्।
निर्वाचनको तयारी गर्नुपर्ने समयमा कांग्रेस र एमाले पुरानै संसद र पुरानै गठबन्धन पुनर्जीवित गर्न खोजिरहेको आरोप पनि उठ्न थालेको छ। यद्यपि कांग्रेसको संस्थागत निर्णय भने निर्वाचनमा जाने नै रहेको बताइँदै आएको छ।
यता, हिरासतमुक्त भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सरकारको पक्षमा सक्रिय देखिएका छन्। हिजो राति काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहसँग भएको भेट र त्यसपछि सार्वजनिक गरिएको एकताको सन्देशलाई चुनावको पक्षमा र संसद पुनस्र्थापनाको पक्षमा रहेका दुई अलग–अलग गठबन्धन निर्माणको संकेतका रूपमा हेरिएको छ।
यसैबीच, हिजो मात्र निर्वाचन आयोगले आयोजना गरेको सर्वपक्षीय छलफलमा दलहरू र सरकार दुवै निर्वाचन र संसद पुनस्र्थापनाबारे स्पष्ट निर्णयमा नपुगेको देखिएको थियो।










