
२२ मंसिर,
बर्दिया — राजापुर नगरपालिका–४ स्थित हमार थारु घर थारु रेष्टुरेन्टमा कार्यरत २७ वर्षीय निरज चौधरीको गोली प्रहारबाट मृत्यु भएको छ।
अचेत अवस्थामा रेष्टुरेन्टभित्र फेला परेका उनलाई उपचारका लागि नेपालगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको थियो। तर उपचारका क्रममा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक प्रकाश सिंह कार्कीले जानकारी दिएका छन्।
प्रहरीका अनुसार चौधरीको गाला र दुबै कानमा गोली लागेको पुष्टि भएको छ। घटनास्थलबाट गोलीका खोका समेत फेला परेको प्रहरीले जनाएको छ।
उनको शव पोष्टमार्टमका लागि नेपालगञ्जमै राखिएको छ र रिर्पोट आएपछि मात्र थप तथ्य बाहिर आउने प्रहरीको भनाइ छ।
दाङ तुलसीपुर नगरपालिका–५ घर भएका निरज चौधरीलाई गोली प्रहार गर्ने व्यक्ति मोटरसाइकलमा फरार भएको प्रारम्भिक जानकारी प्रहरीले दिएको छ।
प्रहरीले पोष्टमार्टम रिपोर्ट नआएसम्म विस्तृत विवरण सार्वजनिक गर्न नसकिने बताएको छ। यस घटनाबारे जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय दुवैले अनुसन्धानलाई तीव्र बनाएको छ।












