
३१ साउन,
कोहलपुर – पश्चिम नेपालको केन्द्रविन्दुका रूपमा रहेको कोहलपुरमा महिलामुखी स्वास्थ्य सेवालाई लक्षित गरी १५ शैयाको महिला डेडिकेटेड एच एण्ड एच हस्पिटल आजदेखि सञ्चालनमा आएको छ।
यस अस्पताललाई यसक्षेत्रकै चर्चित प्रसूति तथा महिला रोग विशेषज्ञ डा. दुर्गा विसीको नेतृत्वमा स्थापना गरिएको हो। उनको अनुभव, प्रतिबद्धता र नेतृत्वमा सुरु भएको यो अस्पतालले अब महिलालाई समयमै, सहज र गुणस्तरीय उपचार उपलब्ध गराउने विश्वास गरिएको छ।
कोहलपुर तथा आसपासका जिल्लाका महिलाले लामो समयदेखि प्रसूति तथा महिला रोग सम्बन्धी उपचारका लागि नेपालगञ्ज वा बाहिरका ठूला शहर धाउनुपर्ने बाध्यता थियो। अब एच एण्ड एच हस्पिटल सञ्चालनमा आएसँगै घरमै नजिकै आधुनिक स्वास्थ्य सुविधा उपलब्ध हुने भएको छ।
डा. दुर्गा विसीका अनुसार अस्पतालमा प्रसूति सेवा, महिला रोग उपचार, आकस्मिक सेवा र नियमित स्वास्थ्य परामर्श सहज रूपमा पाउन सकिनेछ। उनले थपे, “हामीले यसलाई महिलामैत्री अस्पतालको रूपमा विकास गर्ने लक्ष्य लिएका छौं। सबै महिलाले बिना हिच्किचाहट सस्तो र गुणस्तरीय उपचार पाउने व्यवस्था गरिएको छ।”
१५ शैयाको सुरुवाती क्षमतासहित सुरु भएको यो अस्पतालमा आवश्यकताअनुसार अन्य स्वास्थ्य सेवा पनि विस्तार गर्दै लैजाने योजना छ। अस्पतालमा आधुनिक उपकरण, दक्ष स्वास्थ्यकर्मी तथा मैत्रीपूर्ण वातावरण रहने जनाइएको छ।
यससँगै प्रसूति तथा महिला रोगसँगै अन्य साधारण रोगको उपचारसमेत सुरु गर्न लागिएको छ, जसले गर्दा स्थानीय नागरिकलाई “एकै ठाउँमा सबै प्रकारको स्वास्थ्य सेवा” पाउने सुविधा हुनेछ।
स्थानीयवासीले कोहलपुरमै महिला डेडिकेटेड अस्पताल सुरु हुनु क्षेत्रकै ठूलो उपलब्धि भएको प्रतिक्रिया दिएका छन्। उनीहरूका अनुसार यसअघि महिला स्वास्थ्यसम्बन्धी उपचारका लागि लामो यात्रा गर्नुपर्ने अवस्था अन्त्य भएर राहत मिल्ने भएको छ।
कोहलपुरको भौगोलिक महत्वलाई ध्यानमा राख्दै स्थापना गरिएको यस अस्पतालले बाँकेसहित दाङ, सुर्खेत, बर्दिया, जाजरकोट जस्ता जिल्लाका महिलालाई पनि लाभ दिने अपेक्षा गरिएको छ।
डा. विसी नेतृत्वको टिमले आगामी दिनमा यस अस्पताललाई महिला स्वास्थ्य सेवा क्षेत्रमै उदाहरणीय केन्द्र बनाउने लक्ष्य राखेको छ। “स्वास्थ्यमा सहज पहुँच, छिटोछरितो उपचार र गुणस्तरीय सेवा हाम्रो मुख्य प्राथमिकता हो,” डा. विसीले बताए।
यससँगै कोहलपुरमा महिला स्वास्थ्य सेवाको नयाँ अध्याय सुरु भएको जनाइएको छ।








