१० असार,

बर्दिया । बाँसगढी नगरपालिकालाई डिजिटल नगर घोषणा गरिएको छ । बाँसगढी नगरपालिकाले छिटो, छरितो र सरल ढंगले स्थानीय सरकारबाट ई–गभर्नेन्सको आवधारणा अनुसार राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी सेवाग्राहीलाई डिजिटल माध्यमबाट सेवा दिने पालिका घोषणा भएको हो । यो संगै बाँसगढी नगरपालिका देशकै पहिलो डिजिटल नगरपालिका बनेको छ।

बाँसगढी नगरपालिकाको १७औं नगर सभाको अवसरमा सोमबार नगर प्रमुख खडकबहादुर खड्काले डिजिटल पालिका घोषणा गरेका हुन् ।

गत वैशाख २९ गते बाँसगढी नगरपालिका र राष्ट्रिय परिचय तथा पञ्जीकरण विभागबीच बसेको संयुक्त बैठकबाट बाँसगढीले प्रदान गर्ने सबै सेवालाई राष्ट्रिय परिचय पत्रसँग आबद्ध गरी नगरपालिकाबाट प्रवाह गर्ने सबै सेवालाई डिजिटल माध्यमबाट प्रवाह गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम घरबाटै सेवा लिन मिल्ने गरी डिजिटल बाँसगढी भर्सन–२ निर्माण गरी सेवा प्रारम्भ गरिएको नगर प्रमुख खड्काले बताए ।

बाँसगढी नगरपालिकाका नगरबासीले अबदेखि घरमै बसेर सेवा लिन सक्ने जनाइएको छ । बाँसगढी नगरपालिकाले लोकल डेटा सेन्टर स्थापना गरी प्रविधिमैत्री सार्वजनिक सेवा प्रवाह सुरु गरेको छ ।

विगत तीन महिनाको प्रयासपछि डिजिटल माध्यमबाट सेवा प्रवाह सम्भव भएको बाँसगढी नगरपालिकाका सूचना प्रविधि अधिकृत क्षितिज पौडेलले बताए । ‘अब वान क्लिकमा सबै सेवा दिन सकिन्छ,’ उनले भने, ‘राष्ट्रिय परिचय पत्रसँग आबद्ध रहेको हुँदा अटोमेटिक सेवाग्राहीको (आँखाको स्क्यान, नागरिकता, मतदाता नामावलीलगायत) सम्पूर्ण विवरण आउँछ ।’

सेवा छान्नेबित्तिकै एक क्लिकमै सर्भिस दिन सकिने जनाइको छ । आगामी वर्षदेखि सम्पूर्ण योजनाको काम डिजिटल माध्यमबाट गर्ने तयारी भइसकेको जनाइएको छ । राष्ट्रिय परिचय पत्रसँग जोडिएकाले वडाध्यक्षहरूलाई टाउको दुखाइ नहुने जनाइएको छ । जसका लागि सेवाग्राहीले मोबाइलको प्ले स्टोरबाट डिजिटल बाँसगढी–२ एप्स डाउनलोड गर्नुपर्छ । एप्सले मागेको सम्पूर्ण विवरण भरेर पालिकामा पहिला खाता खोल्नुपर्ने जनाइएको छ ।

बाँसगढीले आगामी आर्थिक वर्ष ०८२/०८३ का लागि ९४ करोड २५ लाख रुपैयाँको बजेट पनि सोमबार नै नगर सभामा पेस गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख