
कोहलपुर, बाँके — पाँच वर्षअघि कोहलपुर–३, मदनचोकका फिरोज बक्सको जीवन सामान्य थियो। तर एक दिन अचानक उनले शारीरिक अस्वस्थता महसुस गर्न थाले – वान्ता, झाडा र सारा शरीरभरि जोर्नी दुख्ने लक्षण देखिए। कम्मरको पछाडि डल्लो जस्तो गिर्खा पनि भेटिएपछि उनले स्थानीय चिकित्सकहरूलाई देखाउन थाले। तर बाँकेका ख्यातिप्राप्त चिकित्सकहरूले समेत उनको रोगको निदान गर्न सकेनन्।
थुप्रै अस्पताल धाइरहेका फिरोजलाई अन्ततः ग्रान्डी अस्पताल, काठमाडौँमा “GCT Syndrome” (Giant Cell Tumor) भएको पुष्टि गरियो — एक लाख जनामध्ये एकजनामा मात्र देखिने दुर्लभ रोग। प्रारम्भमा ग्रान्डी अस्पतालका चिकित्सकहरूले शल्यक्रिया गर्ने आश्वासन दिए, तर समयमै शल्यक्रिया नगरी ढिलाइ हुँदा ट्युमर व्यापक रूपमा फैलिन थाल्यो। अन्ततः आधा किलो जति ट्युमर निकालेर उनलाई घर फर्काइयो।
घर फर्किएपछि दुखाई झनै असह्य बन्यो। महँगो औषधोपचारको अभावमा पेन किलरको भरमा दिन बिताइरहेका फिरोज भन्छन्, “कतिदिन भोकै, प्यासै घरमै थलिएर बसें, दुखाई सहनै नसक्ने भयो।”
ट्युमर मलद्धार हुँदै मृगौला र फोक्सोसम्म फैलियो
पुनः चेकजाँचका लागि खजुरा क्यान्सर अस्पताल जाँदा ट्युमर मलद्धारसम्म फैलिएको पत्ता लाग्यो। त्यसपछि उनलाई भारतको एम्स (AIIMS) अस्पताल रिफर गरियो। भारतमा पेटबाट मल विसर्जन गर्ने प्रक्रिया गरिए पनि, ट्युमर अब मृगौला र फोक्सोसम्म फैलिएको छ। पिसाब फेर्नसमेत गाह्रो हुन थालेको फिरोज बताउँछन्।
“अब त भगवान भरोसा मात्रै बाँकी छ। घरजग्गा सबै बेचिसकियो, परिवारलाई हेरचाह गर्न सक्ने स्थितिमा छैन,” पीडाले भरिएको स्वरमा उनी भन्छन्।
परिवारमा दोहोरो पीडा, कमाउने हात नै थलिएपछि कठिन बाँचाइ
फिरोजका पिता सफितुल्ला मियाको निधन पनि ब्रेन ट्युमरका कारण पाँच वर्षअघि भएको थियो। अब छोरा पनि त्यही बाटोमा हिँडिरहेको देखेर आमाजमिला खातुनको मन भक्कानिन्छ। परिवारमा दुई छोरा भए पनि रोजगारी र दायित्व बोकेको व्यक्ति फिरोज नै थिए। उनको स्वास्थ्य अवस्थाले परिवारको आर्थिक स्रोत बन्द भएको छ, मोबाइल पसल समेत महिनौंदेखि बन्द छ।
गरगहना, घरजग्गा सबै बेचिसकेपछि अहिले जमिला खातुन सरकारी तथा निजी क्षेत्रबाट सहयोगको अपेक्षामा छन्।
स्थानीयबासी र नेताहरूको सक्रियता, सहयोग अभियान सुरु हुँदै
“फिरोजलाई टाढाबाट हेर्दा सामान्य लाग्छ, तर नजिकिएपछि उनको पीडा हृदयविदारक छ,” भन्छन् ‘द बगैचा इट एण्ड ड्रिङ्क’का सञ्चालक अर्जुन जंग शाह। उनले पत्रकार भेटघाटको समन्वय गर्दै सबैलाई सक्दो सहयोग गर्न अपिल गरेका छन्।
कोहलपुर नगरपालिका–३ का वडा अध्यक्ष माधव रिजाल भन्छन्, “अब वडा वा नगरपालिकाको प्रयास मात्र पर्याप्त छैन, हामीले ‘फिरोज बचाउ अभियान’ सुरु गर्ने निर्णय गरेका छौं।”
फिरोजका मामाले नेपाल–भारतका दर्जनौं अस्पतालमा उपचार खोजे पनि निराशा बाहेक केही नपाएको बताउँदै, सम्पूर्ण नेपाली समुदायसँग सहयोगको अपिल गरेका छन्।
जीवनरक्षाका लागि सहयोग गरौं
सहयोग खाता विवरण:
बैंक: ग्लोबल आईएमई बैंक
खातावालाको नाम: जमिला खातुन
खाता नम्बर: ०८३०७०१०१००६८१
सम्पर्क: फिरोज बक्स – ९८०२४७६८७९










