दाङ, धारपानी (घोराही–५):
संघीय राजधानी काठमाडौंबाट करिब ४२१ किलोमिटर पश्चिममा अवस्थित दाङ जिल्लाको घोराही उपमहानगरपालिका–५, धारपानीमा रहेको श्री पाण्डवेश्वर महादेव मन्दिर धार्मिक, ऐतिहासिक र पर्यटकीय दृष्टिकोणले एक महत्वपूर्ण स्थलका रूपमा स्थापित हुँदै गएको छ। समुद्री सतहदेखि ६३३ मिटरको उचाइमा रहेको यो मन्दिर क्षेत्र उत्तरतर्फ बहने बबई नदीको दुई शिलाबीचमा अवस्थित, प्राकृतिक, जैविक तथा आध्यात्मिक रूपमा समृद्ध स्थल हो।

पौराणिक मान्यता र ऐतिहासिक पृष्ठभूमि

पौराणिक मान्यताअनुसार, महाभारत कालमा पाँच पाण्डवहरूले वनवासको क्रममा यस स्थानलाई तपोभूमिका रूपमा रोजी भगवान् शिवको पूजाअर्चना गरेका थिए। यही ठाउँमा शिवका विभिन्न स्वरूपहरू स्थापना गरिएको जनविश्वास रहिआएको छ। मन्दिर क्षेत्रको उत्तरतर्फ रहेको विशाल तलाउ, चुरे पर्वतको फेदी, र मन्दिरभित्रको अद्वितीय शिवलिंगले उक्त किम्बदन्तीलाई पुष्टि गर्ने ऐतिहासिक प्रमाणका रूपमा व्याख्या गरिन्छ।

यस क्षेत्रमा रहेको “त्रिशूल वृक्ष”, दिलाबदर डाँडामा त्रिशूल गाड्न खोज्दा भएको असफल प्रयास, तथा स्थानीय जनजीवनमा घुलमिल भएका वन्यजन्तुहरूको उपस्थितिले समेत यस स्थानको आध्यात्मिक र जैविक महत्त्व झल्काउँछ। यहाँ जर, पँपनी, बाघ, खेरत, नाग, कालिजजस्ता विविध जीवजन्तुहरूको स्वच्छन्द विचरणले जैविक विविधताको जीवन्त उदाहरण प्रस्तुत गर्दछ।

तीर्थयात्राको प्रमुख केन्द्र

प्रत्येक वर्ष महाशिवरात्रि, साउन महिना, र बोलबम जस्ता धार्मिक पर्वहरूमा लाखौं भक्तजनहरू यहाँ दर्शन र पूजाआर्जन गर्न आउने गर्दछन्। वि.सं. २०११ देखि सेनापति श्री सुमन थापा ज्युको सिफारिसमा नेपाली सेनाले महाशिवरात्रिको अवसरमा त्रिशूलसहित शिव सलामी अर्पण गर्ने परम्परा सुरु गरेको हो। यसै परम्परालाई निरन्तरता दिँदै, हालसम्म पनि हरेक वर्ष नेपाली सेनाको उपस्थितिमा शिवपूजन र सलामी कार्यक्रम आयोजना हुँदै आइरहेको छ।

विकास र भविष्यको सम्भावना

वि.सं. १९९७ देखि मन्दिर निर्माण कार्य प्रारम्भ भई, २०४७ सालमा मूल मन्दिर निर्माणसहित यो कार्य व्यवस्थित ढंगले अघि बढाइएको हो। हाल मन्दिर क्षेत्रमा विविध संरचनाहरू निर्माण भइसकेका छन् भने वि.सं. २०७३ मा ‘धार्मिक तपोवन’को कार्ययोजना बनाई अन्य विकासात्मक गतिविधिहरू पनि अघि बढाइएको छ।

त्यस्तै, मन्दिर व्यवस्थापन समितिको सक्रियतामा २४०० मिटरको उचाइमा रहेको सुनकोट क्षेत्रमा खड्ग देवी मन्दिर निर्माण कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। यस मन्दिरमा ३००० के.जि. तौलको विशाल घण्टा स्थापना गर्ने योजना अनुरूप नेपाली सेनाको हेलिकप्टरमार्फत घण्टा स्थानान्तरण गरिएको छ। यस महत्त्वपूर्ण कार्यमा सेनापति श्री पूर्ण उन्द्र थापा (क) ज्युको योगदान उल्लेखनीय रहेको छ।

श्री पाण्डवेश्वर महादेव मन्दिर आज धार्मिक आस्थाको केन्द्रमात्र नभई, जैविक विविधता, सांस्कृतिक मौलिकता र पर्यटकीय सम्भावनाले भरिएको एक राष्ट्रिय गौरवको स्थलको रूपमा स्थापित हुँदैछ। अझ व्यवस्थित संरक्षण, प्रवर्द्धन र प्रचार–प्रसार गरिन सकेमा यो स्थलले भविष्यमा दाङ जिल्लालाई राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय तहमा समेत चिनाउन सक्ने अपार सम्भावना बोकेको मन्दिर हो।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्री गणेश कुमार अधिकारीले बाँके अपडेट मिडियालाई जानकारी दिनु भएको छ।

प्रतिक्रिया

सम्बन्धित ख