
बाँके,बर्दियाबाट काठमाडौं जाँदै गरेको बस दाङमा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । प्रदेश ३ ०१००५ ख ९७१९ नम्बरको यात्रुवाहक बस लमही नगरपालिका-९ रिहार नजिकै दुर्घटना भएको थियो । दुर्घटना हुँदा बर्दिया गेरुवा गाउँपालिका-१ का ३६ वर्षीय भीमनाथ योगी र मधुवन नगरपालिका-२ अमरपुरका युवराज चौधरीको मृत्यु भएको इलाका प्रहरी कार्यालय अमिलियाका प्रहरी निरीक्षक लाल बहादुर श्रेष्ठले बताएका छन्।
४७ जना यात्रु लिएर बर्दिया देखि काठमाडौंतर्फ जाँदै गरेको बस गएराति ११ बजे दुर्घटना हुँदा बसमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
अहिले मृतकहरूको शव लमही अस्पतालमा राखिएको छ । दुर्घटना बसको पट्टा भाँचिएर भएको प्रहरीले बताएको छ । बसको अगाडि बसेका व्यक्तिहरु हुत्तिएर अगाडि च्यापिन पुगेकाले २ जनाको मृत्यु हुन पुगेको भनेर प्रहरीले जानकारी दिएको छ । दाङमा दुई साता अघि मात्रै नेपालगंज बाट काठमाण्डौ तर्फ जाँदै गरेको यात्रु बाहक बस भालुबाङ पुलबाट राप्ती नदीमा खस्दा १२ जनाको मृत्यु भएको थियो ।









