
२२ चैत्र,
बाँके । सरकारले सरकारी कार्यालय, स्कुल÷कलेजका लागि दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद् बैठकले सरकारी कलेज, स्कुल तथा कलेजहरुमा आइतबार र शनिबार विदा दिने निर्णय गरेको हो ।
सरकारले योसँगै अबदेखि सकारी कार्यालय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । सरकारको यो निर्णयसँगै बैंक तथा वित्तीय क्षेत्र र बीमा क्षेत्रमा पनि चासो बढेको छ ।
अब बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी पनि दुई दिन बन्द हुन्छन् वा हुँदैनन् भन्ने चासो बढेको छ । यो जिज्ञासामा हामीले राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेललाई राखेका थियौं ।
उनले सरकारी कार्यालय भनेकोले स्वभावैतः राष्ट्र बैंक दुई दिन बन्द हुने बताए । ‘अब राष्ट्र बैंक दुई दिन बन्द हुने नै भयो । राष्ट्र बैंकको नियमनभित्र रहेका बैंक तथा वित्तीय संस्थाहरु राष्ट्र बैंक खोल्दा अनिवार्य खुल्नुपर्छ । तर, नेपाल राष्ट्र बैंक बन्द हुँदा ती संस्थालाई ऐच्छिक छ । तर, सबैको चासोको विषय र पेट्रोलियम पदार्थको अभाव व्यवस्थापन भएकोले सीमित बैंकिङ सेवा दिने गरी परिपत्र गर्छौं गर्छौं,’ उनले भने ।
उनका अनुसार के कसरी व्यवस्थापन गर्ने विषय भने मन्त्रिपरिषद् बैठकको निर्णय अर्थमन्त्रालयमार्फत् आएपछि जानकारी हुनेछ । कतिपय बैंकले सातैदिन र २४सै घण्टा सेवा भनेकाले डिजिटल तथा सीमित शाखा सञ्चालन गरेर सेवा दिन सकिने उनको भनाइ छ ।









