
१० चैत्र,
बाँके — सरकारको स्पष्ट निर्देशन विपरीत बाँकेको कोहलपुरमा केही निजी विद्यालयहरूले नयाँ शैक्षिक सत्र २०८३ का लागि समयअगावै भर्ना तथा प्रि-रजिस्ट्रेशन प्रक्रिया सुरु गरेका छन्।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय अन्तर्गतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले वार्षिक परीक्षा सम्पन्न भई नतिजा प्रकाशनपछि मात्रै भर्ना प्रक्रिया अघि बढाउन निर्देशन दिएको थियो। केन्द्रले जारी गरेको सूचनामा परीक्षा नसकिँदै कुनै पनि प्रकारको भर्ना सम्बन्धी गतिविधि नगर्न स्पष्ट रूपमा भनिएको छ।
तर, कोहलपुरस्थित केही निजी विद्यालयहरूले उक्त निर्देशनको बेवास्ता गर्दै सामाजिक सञ्जालमार्फत भर्ना अभियान अघि बढाएका छन्। सार्वजनिक पोस्टहरूअनुसार तक्षशीला एकेडमी नयाँ भर्ना फारम वितरण सुरु गरेको छ भने ग्रीन पीस सेकंडरी स्कूल ले “Pre-registration open for 2083” भन्दै PG (प्ले ग्रुप) देखि कक्षा ९ सम्मका लागि पूर्व-दर्ता प्रक्रिया अघि बढाएको देखिन्छ।
प्रि-रजिस्ट्रेशन औपचारिक भर्ना प्रक्रिया अगावै विद्यार्थीको नाम दर्ता गर्ने प्रारम्भिक चरण भए पनि यसलाई भर्ना प्रक्रियाकै एक हिस्सा मानिन्छ। यस्तो अवस्थामा, परीक्षा सम्पन्न हुनु अघि नै प्रि-रजिस्ट्रेशन सुरु गर्नु समेत सरकारी निर्देशन विपरीत भएको देखिन्छ।
यसैबीच, सम्बन्धित निकाय शिक्षा विकास तथा समन्वय इकाइले प्रभावकारी अनुगमन नगरेको भन्दै स्थानीयस्तरमा प्रश्न उठ्न थालेको छ। सरकारी निर्देशनको खुलेआम उल्लंघन हुँदा पनि नियमनकारी निकायको निष्क्रियता चिन्ताको विषय बनेको छ।









