२ चैत्र,

बाँके — बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिकार खेल्न गएका सुर्खेतका एक युवकको मृत्यु भएको आशंका गरिएको छ भने उनीसँगै गएका पाँच जना अझै सम्पर्कविहीन रहेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार बराहताल गाउँपालिका–२ का ३३ वर्षीय टोपबहादुर खत्री फागुन २३ गते केही साथीसहित सिकार खेल्न भन्दै घरबाट करिब १७ किलोमिटर दक्षिणतर्फ पर्ने बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रतर्फ गएका थिए। त्यसपछि उनी घर फर्किएका छैनन्।

प्रहरीका अनुसार खत्रीका आफन्त आसे महतराले सँगै गएका व्यक्तिमध्ये एक जना सुनिल समसेलीकी आमामार्फत खत्रीको मृत्यु भएको खबर आएको भन्दै प्रहरीलाई जानकारी दिएका थिए।

घटनाबारे सूचना प्राप्त भएपछि सोमबार बिहानदेखि प्रहरी चौकी रानीघाटबाट प्रहरी टोली घटनास्थलतर्फ खटिएको छ। घटनास्थल सुर्खेतबाट करिब १७ किलोमिटर दक्षिणतर्फ बर्दिया जिल्ला क्षेत्रभित्र पर्ने भएकाले जिल्ला प्रहरी कार्यालय बर्दियासँग समन्वय गरेर खोजी तथा अनुसन्धान सुरु गरिएको सुर्खेत प्रहरीका प्रवक्ता मोहनजंग बुढथापाले बताए।

टोपबहादुर खत्रीसँगै सिकार खेल्न गएका तर हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरूमा बराहताल गाउँपालिका–१ ज्यामिरेका २५ वर्षीय रेशम समसेली, ४१ वर्षीय रबिलाल दमाई, ३४ वर्षीय रामबहादुर घर्ति, ३० वर्षीय सुनिल समसेली तथा लेकवेशी नगरपालिका–८ गंगटे घर भई हाल बर्दियामा बस्दै आएका ४५ वर्षीय दुर्गाबहादुर सिजाली रहेका छन्।

प्रहरीले घटनाको वास्तविकता पत्ता लगाउन घटनास्थलतर्फ टोली पठाएको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित ख