
१० फागुन,
बाँके । बाँके क्षेत्र नं. ३ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेद्वार अमरसिंह पुनले आफ्नो विस्तृत प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन्। आगामी निर्वाचनलाई लक्षित गर्दै उनले शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, युवा, महिला, उद्योग, वातावरण लगायतका क्षेत्रलाई समेटेर दीर्घकालीन विकासको योजना अघि सारेका हुन्।
सर्वसुलभ प्राविधिक शिक्षामा जोड
पुनले “हामी सबैको इच्छा : सर्वसुलभ प्राविधिक शिक्षा” नारासहित सार्वजनिक शिक्षा प्रणालीमा प्रभावकारी अनुगमन, सामुदायिक र संस्थागत विद्यालयबीच अनुभव आदान–प्रदान तथा गुणस्तर अभिवृद्धिमा जोड दिने प्रतिबद्धता जनाएका छन्। प्राविधिक, व्यावसायिक र सिपमूलक शिक्षालाई प्राथमिकतामा राख्दै मधेशी मुस्लिम महिलाहरूको उच्च शिक्षामा पहुँच वृद्धि गरिने उनले बताएका छन्।
सामुदायिक विद्यालयमा शिक्षक–विद्यार्थी अनुपात मिलाउने, “एक पालिका एक नमुना विद्यालय” कार्यक्रम सञ्चालन गर्ने, ई–लाइब्रेरी तथा डिजिटल लर्निङसहित “स्मार्ट एण्ड ग्रीन स्कूल” अभियान अघि बढाइने उल्लेख छ। साथै ज्ञानोदय बहुमुखी पब्लिक क्याम्पस, खजुरा कृषि क्याम्पस र प्रस्तावित कृषि क्याम्पस सञ्चालनमा पहल गरिने जनाइएको छ।
स्वास्थ्य सेवामा सुधारको प्रतिबद्धता
“स्वस्थ जीवन नागरिक अधिकार” नारासहित सबै पालिकाका प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थित गर्ने, स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी बनाउने तथा स्तन र पाठेघर क्यान्सर स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने योजना प्रस्तुत गरिएको छ। सर्पदंश र हात्तीपाइले रोग न्यूनीकरणमा विशेष अभियान सञ्चालन गरिने जनाइएको छ।
सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई स्तरोन्नति गरी अत्याधुनिक सुविधा सम्पन्न अस्पतालको रूपमा विकास गर्ने तथा सबै स्वास्थ्य चौकीमा आपतकालीन र सुत्केरी सेवा सुचारु गरिने प्रतिबद्धता उनले जनाएका छन्।
सडक तथा पूर्वाधार विकासमा तीव्रता
कोहलपुर–चिसापानी–मानखोला सडकलाई फोर लेनमा विस्तार गर्ने, खजुरा बजार–सम्झना सडक कालोपत्रे गर्ने तथा विभिन्न लिंक रोड स्तरोन्नति गर्ने योजना अघि सारिएको छ। बाढी न्यूनीकरणका लागि तटबन्ध निर्माण र व्यवस्थित सिटी प्लानिङ नीति अगाडि बढाइने उल्लेख छ।
२०७९ सालमा गरिएका प्रतिबद्धता अनुसार निर्माण सम्पन्न र निर्माणाधीन योजनालाई छिटो सम्पन्न गर्न पहल गरिने तथा विद्युत आपूर्ति सुधारका लागि उच्च क्षमताका ट्रान्सफर्मर जडान गरिने जनाइएको छ।
कृषि र सिँचाइमा प्राथमिकता
कृषकका लागि मल, बिउ र सिँचाइ सर्वसुलभ बनाउने, “एक क्षेत्र एक उत्पादन” कार्यक्रम सञ्चालन गर्ने र प्रत्येक वडामा हाटबजार केन्द्र स्थापना गर्ने योजना छ। स्थानीय उत्पादनको प्रशोधन उद्योग, कोल्ड स्टोर र बजार व्यवस्थापनमा जोड दिइनेछ।
सिक्टा सिँचाइ, भेरी–बबई डाइभर्सन तथा बबई सिँचाइ नहरलाई व्यवस्थित गर्दै भूमिगत सिँचाइ सुविधा विस्तार गरिने उल्लेख छ। “एक घर एक धारा” अभियान र डिजिटल प्लेटफर्ममार्फत किसानलाई बजारसँग जोड्ने योजना पनि प्रस्तुत गरिएको छ।
युवा, महिला र सामाजिक सशक्तीकरण
युवा तथा खेलकुद क्षेत्रमा रंगशाला स्तरोन्नति, एक टोल एक खेलमैदान, एक वडा एक उद्यम कार्यक्रम तथा युथ इनोभेसन सेन्टर स्थापना गर्ने प्रतिबद्धता जनाइएको छ। महिलाहरूका लागि सिपमूलक तालिम, महिला उद्यम कोष तथा जेष्ठ नागरिक र बालबालिकालाई लक्षित सेवा घरदैलोमै पुर्याउने संयन्त्र विकास गरिनेछ।
पर्यटन, उद्योग र वातावरण संरक्षण
धार्मिक तथा सांस्कृतिक स्थलहरूको संरक्षण, मानसरोवर र गाभर भ्यालीलाई पर्यटकीय केन्द्रको रूपमा विकास गर्ने तथा जैविक पार्क निर्माण गर्ने योजना छ। नौवस्ता औद्योगिक क्षेत्र सञ्चालन गरी स्थानीय रोजगारी सिर्जना गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ।
जलवायु संरक्षण, वृक्षरोपण अभियान, धुवा–धुलो मुक्त शहर निर्माण तथा विपद् व्यवस्थापन योजनालाई प्रभावकारी बनाउने उल्लेख गरिएको छ।
नीतिगत प्रतिबद्धता र सुशासन
नेपाल–भारत सीमावर्ती जमिन धितो नीतिमा सुधार, कृषकका उत्पादनको उचित मूल्य सुनिश्चित गर्न नीति निर्माण तथा क्षेत्रीय गुरुयोजना निर्माणमा पहल गरिने जनाइएको छ। सांसदको क्षेत्रीय कार्यालय स्थापना गरी नागरिकसँग प्रत्यक्ष संवाद बढाइने र ई–गभर्नेन्समार्फत सेवा प्रवाहलाई छरितो बनाइने प्रतिबद्धता जनाइएको छ।
उम्मेद्वार पुनले इमान्दारिता, पारदर्शिता र जवाफदेहितालाई आधार मानेर कार्य गर्ने प्रतिज्ञा गर्दै रुख चिन्हमा मतदान गरी अत्यधिक बहुमतले विजयी गराउन मतदातासँग अपिल गरेका छन्।












