८ कार्तिक,

बाँके — प्रेस सेन्टर नेपाल बाँकेले प्रेस सेन्टरका नेता तथा कोहलपुर टुडेका कार्यकारी सम्पादक डिल्ली शाहीमाथि समाचार संकलनकै क्रममा भएको कुटपिट र दुर्व्यवहारप्रति घोर भत्सना गरेको छ।

राप्तीसोनारी गाउँपालिका–८, बुच्चापुरमा बाघको आक्रमणबाट ४० वर्षीय इन्द्र बहादुर खत्रीको मृत्यु भएको घटनाबारे समाचार संकलन गर्न पुगेका बेला पत्रकार शाहीमाथि स्थानीयहरूले सामूहिक रूपमा कुटपिट गरेका थिए।

पत्रकार शाहीका अनुसार, बाँके राष्ट्रिय निकुञ्जका रेन्जर जयहरी धितालमाथि भएको कुटपिटको भिडियो खिचेको कारण सो भिडियो डिलिट गर्न दबाब दिँदै स्थानीय समूहले आफूमाथि आक्रमण गरेको बताए। उनले पत्रकार परिचयपत्र देखाउँदा पनि स्थानीयहरूले आक्रामक व्यवहार गरी कुटपिट गरेको बताएका छन्।

प्रेस सेन्टरले यस घटनालाई प्रेस स्वतन्त्रता र सञ्चारकर्मीको सुरक्षामाथिको गम्भीर आघात भन्दै कडा शब्दमा निन्दा गरेको छ।

संगठनले भनेको छ, “सार्वजनिक स्थलमा हुने गतिविधिको समाचार संकलन र प्रसारण गर्ने हक नेपालको संविधानले सुनिश्चित गरेको हो। यस प्रकारका घटनाले सञ्चारकर्मीको मनोबल कमजोर पार्ने मात्र होइन, स्वतन्त्र र निर्भीक पत्रकारिताको वातावरणमा बाधा पुर्‍याउने कार्य भएको छ।”

प्रेस सेन्टरले कुटपिटमा संलग्न अराजक समूहलाई तत्काल पक्राउ गरी कानूनी कारबाही गर्न स्थानीय प्रशासनलाई जोडदार माग गरेको छ। संगठनले चेतावनी दिंदै भनेको छ, “दोषीहरूलाई कारबाही नगरे प्रेस सेन्टर बाध्य भएर आन्दोलनका कार्यक्रमहरू घोषणा गर्नेछ।”

साथै, प्रेस सेन्टरले स्वतन्त्र प्रेस र सञ्चारकर्मीको सुरक्षाका लागि सबै सरोकारवालाको तात्कालिक ध्यानाकर्षण गराएको छ।

प्रतिक्रिया

सम्बन्धित ख