बाँके, २६ जेठ —
रत्नराजमार्ग अन्तर्गतको कोहलपुर–नेपालगञ्ज सडकखण्ड अहिले सडक नभएर सास्तीको पर्याय बनेको छ। धूलो, माटो, खाल्डाखुल्डी, र जनताको आक्रोशले यो बाटो ढाकिएको छ। सडक बनाउने ठेक्का पाएको कम्पनी गायब छ, जिम्मेवार सरकारी निकाय मौन छन्, र जनजीवन संकटमा परेको छ।

हवल्दारपुर, भवानीपुर, पिपिरी–डिडिसी दुग्धडेरी क्षेत्रको सडक महिनौं अगाडि खनेर छाडिएको छ। पुरानो कालोपत्रे हटाइए पनि नयाँ निर्माण सुरु भएको छैन। परिणामतः स्थानीय बासिन्दाहरू धूलोमा निसासिएर र खाल्डाखुल्डीमा दुर्घटनाको जोखिम मोल्दै गुजारा चलाइरहेका छन्।

सडक निर्माणको जिम्मा “माँ त्रिपूरा सुन्दरी पञ्चकोशी जेभी” कम्पनीलाई दिइएको थियो। तर कम्पनीले सडक खनेपछि सम्पर्कविहीन भएको लामो समय भइसकेको छ। बाँके सडक डिभिजनका इञ्जिनियर राम सागर हरिजन भन्छन् ।

“छैटौं पटक पत्र काट्दा पनि ठेकेदारबाट कुनै प्रतिक्रिया आएको छैन।”
अब प्रश्न उठ्छ — बारम्बार पत्र काट्दा पनि नआउने ठेकेदारलाई सुरुमै किन रोजियो? के मूल्यांकन भएन? कि मूल्यांकन पनि मिलेमतोमै भयो?

नेपालगञ्ज–कोहलपुर सडक पश्चिम नेपालको सबभन्दा व्यस्त र रणनीतिक सडक हो। यस्तो मार्गलाई वर्षात सुरु हुन लाग्दा पनि अलपत्र अवस्थामा छाड्नु केवल लापरवाही होइन — राज्य संयन्त्रको असक्षमता र ठेकेदारको दादागिरीको संयुक्त प्रमाण हो।

भवानीपुरका एक स्थानीय भन्छन्: ” हरेक दिन दुई–तीन वटा मोटरसाइकल लडेको देखिन्छ। धूलोले आँखा खोल्न सकिन्न, खाल्डामा मोटरसाइकल चलाउदा अनियन्त्रित भई पल्टने गरेको देख्न सकिन्छ । यस्तो लाग्छ, हामी जनताजस्तो होइन, प्रयोगशालाका मुसाझैं व्यवहारमा छौं।”

न जरिवाना, न कारबाही — के यो मिलेमतो होइन?

सडक बनाउने जिम्मा लिएर गायब हुने ठेकेदार, प्रतिक्रिया नदिने सरकारी निकाय र मौन बस्ने जनप्रतिनिधिहरू — के यी सबै संयोग मात्र हुन्? कि यसको जड राज्य–ठेकेदार गठबन्धनको मिलेमतोमा छ?
यदि राज्य संयन्त्र सशक्त हुन्थ्यो भने, के कुनै ठेकेदारले यति निर्लज्ज लापरवाही देखाउने आँट गर्थ्यो?

सडक मर्मत नभएको कुरा केवल यातायातको असुविधा होइन — यो जनताको स्वास्थ्य, सुरक्षा र आत्मसम्मानमाथिको आक्रमण हो। यदि यही मौनता र बेवास्ता जारी रह्यो भने, अब जनताले प्रतिरोधको बाटो रोज्न बाध्य हुने स्थानीयहरू बताउँछन्।

नेपालगञ्ज–कोहलपुर सडकको संकट केवल स्थानीय समस्या होइन — यो त्यस्तो पुरानो घाउ हो, जसमा देशभरका नागरिकहरूले पनि आफ्नो पीडा देखिरहेका छन्। ठेकेदारको मनपरी, सरकारको कमजोरी र जनताको बेवास्ता — देशको विकास प्रक्रियामा बाधक यी त्रासदीहरू अब पनि सहनु पर्ने कि विरुद्ध बोल्न थाल्ने?

 

प्रतिक्रिया

सम्बन्धित ख