
बाँके, कोहलपुर नगरपालिका–११ अन्तर्गतको लोकनगर मुक्त कमैया बस्ती, जहाँ हरेक वर्ष बाढी र डुबानले जनजीवन प्रभावित हुने गरेको छ, अब समुचित विकास र दीर्घकालीन समाधानतर्फ अग्रसर हुने संकेत देखिएको छ। वडाध्यक्ष एवं समाजसेवी कल्पना शर्माको नेतृत्वमा आयोजित एक बहुपक्षीय छलफल कार्यक्रमले बस्तीको पूर्वाधार विकास, युवाको सशक्तीकरण, स्वरोजगार, कृषि आत्मनिर्भरता र सामाजिक जागरुकता जस्ता विषयमा ठोस कार्ययोजना प्रस्तुत गरेको छ।
डुबान समस्याको समाधानका लागि ढल निकासलाई पहिलो प्राथमिकता
कार्यक्रममा सबैभन्दा पहिले वर्षेनी हुने डुबान समस्यालाई दिगो रूपमा समाधान गर्न प्रभावकारी ढल निकास प्रणाली निर्माणलाई वडाको पहिलो प्राथमिकता बनाइने घोषणा गरिएको छ। यससँगै, महेन्द्र राजमार्ग हुँदै कोहलपुर सिटी स्कुल र रत्नराजमार्ग जोड्ने बाइपास सडकलाई कालोपत्रे गर्ने योजना समेत आगामी आर्थिक वर्ष २०८२/२०८३ को बजेटमा समावेश गरिने भएको छ।
युवा सशक्तीकरण र स्वरोजगारको अभियान
स्थानीय युवायुवतीलाई आत्मनिर्भर बनाउने उद्देश्यले व्यावसायिक र व्यवहारिक सिपमूलक तालिमहरू सञ्चालनको माग गरिएको छ। सिलाई–कटाई, ब्युटीपार्लर, पलम्बिङ, वारिङ, मोबाइल मर्मत र कम्प्युटर सिकाइ जस्ता सीपहरूलाई प्राथमिकतामा राखिएको छ। यसले उनीहरूलाई रोजगारीको अवसर सिर्जना गर्न सघाउनेछ।
कृषिमा आत्मनिर्भरता र लागुऔषध विरुद्ध अभियान
करेसाबारीमा तरकारी उत्पादनसम्बन्धी व्यावसायिक तालिममार्फत खाद्य आत्मनिर्भरता तथा आयआर्जनको बाटो खोल्ने योजनासमेत छलफलमा उठाइएको छ। साथै, पछिल्लो समय युवामा बढ्दो लागुऔषध दुर्व्यसनलाई दृष्टिगत गर्दै जनचेतनामूलक कार्यक्रम संचालन गर्ने निर्णय पनि गरियो।
कार्यक्रममा LISP कार्यक्रमबाट रजनीकान्त चौधरी र पुनम चौधरीको समेत उपस्थिति रहेको थियो। साथै, लोकनगरका स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिताले छलफललाई थप सशक्त बनाएको थियो।
वडाध्यक्ष कल्पना शर्माले स्थानीयका सरोकारका विषयवस्तुहरू आगामी योजना र बजेटमा समावेश गरिने दाबी गर्दै भनिन्,
“हामीले केवल समस्या सुनेका छैनौं, समाधानका मार्ग पहिचान गर्दै कार्यान्वयनको दिशा तय गरिरहेका छौं। यो पहल लोकनगरको समृद्धिको थालनी हो।”
यो छलफल केवल एउटा कार्यक्रम मात्र नभई स्थानीय सरकार र जनताको सहकार्यमा आधारित समृद्धिको एक ठोस खाका हो। ढल निकास, सडक विकास, सीप तालिम, कृषि आत्मनिर्भरता र सामाजिक चेतनाको यो संयुक्त प्रयासले लोकनगरलाई सुरक्षित, सक्षम र समुन्नत बस्तीको रूपमा स्थापित गर्ने आशा गरिएको छ।