
– बर्दिया , गणेश खनाल
वैदेशिक रोजगारीको नाममा युवाहरुलाई विदेश पठाइदिने भन्दै ठगी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा बर्दिया जिल्लाको ठाकुरबाबा नगरपालिका–१ निवासी ३५ वर्षीय प्रेमबहादुर साउद र सुर्खेतको सिम्ता गाउँपालिका–८ निवासी २१ वर्षीय ललित बोहरा रहेका छन्। उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरेको हो।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यका अनुसार ती दुई जनाले बेरोजगार युवायुवतीलाई आकर्षक तलब र सुविधाको प्रलोभन देखाएर वैदेशिक रोजगारीका लागि विभिन्न देशमा लैजाने भन्दै ठगी गरेका थिए।
प्रहरीका अनुसार प्रेमबहादुर साउदले आयरल्याण्ड पठाइदिने भन्दै तीनजनाबाट ४१ लाख ९० हजार रुपैयाँ असुलेका थिए भने ललित बोहराले युके पठाइदिने भन्दै एकजनाबाट १० लाख रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।
पीडितहरूले लामो समयसम्म प्रतिक्षा गर्दा पनि विदेश जान नपाएको र अभियुक्तहरू सम्पर्कविहीन भएपछि प्रहरीमा उजुरी दिएका थिए। उजुरीको आधारमा अनुसन्धान सुरु गरी पक्राउ गरिएको प्रहरी उपरीक्षक आचार्यले जानकारी दिनुभयो।
पक्राउ परेका व्यक्तिहरूमाथि आवश्यक अनुसन्धान पश्चात् थप कारबाहीका लागि आजै वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौँमा बुझाइएको प्रहरीको भनाइ छ।
यस घटनाले वैदेशिक रोजगारीको सपना देखिरहेका नेपाली युवाहरू अझै पनि दलालहरूको जालोमा पर्न सक्ने खतरा कायमै रहेको संकेत गरेको छ। प्रहरी प्रशासनले यस किसिमका ठगी कार्यविरुद्ध कडाइका साथ अनुसन्धान र निगरानी बढाउने प्रतिबद्धता जनाएको छ।