
चैत्र-२९
बाँके अपडेट : नेपालगन्जको जमुनाहा नाका भएर घर फर्किनेलाई ज्वरो नाप्ने अनि शंका लागेकालाई मात्र कोरोना जाँच गरिने गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले बताए । ‘सामान्य चेकजाँच गर्दा शंका लागेकालाई नाकामा स्वाब लिएको १५ मिनेटमा कोरोना टेस्ट गर्छौं,’ उनले भने, ‘६ हजारलाई चेक गर्दा अहिलेसम्म ६ जना पोजिटिभ केस फेला पारेका छौं ।’ संक्रमण पुष्टि भएकाहरू भारतको महाराष्ट्रबाट घर फर्किएका बाँके, दैलेख र रोल्पाका छन् ।
चैत लागेसँगै जिल्लामा कोरोना संक्रमण दर बढ्दै गएको कोरोना फोकल पर्सन तेज वलीले बताए । ‘कोरोना महामारी चलिरहेकाले हामीले जिल्लामा कोरोना टेस्ट रोकेका थिएनौं,’ उनले भने, ‘केही समययता कोरोना टेस्ट गराउने संख्यामा चाहिँ कमी आएको हो ।’ चैत ११ मा नाकामा स्थापना गरिएको हेल्थ डेस्कबाट जाँच गराए मात्रै नेपाल पस्न पाउने व्यवस्था गरिएको छ । १५ मिनेटमा रिपोर्ट निकाल्ने प्रविधिसहितको हेल्थ डेस्क यहाँ सञ्चालनमा ल्याइएको हो ।