
चैत २५, २०७७, बाँके
बाँके अपडेट : आज नेपाल पत्रकार महासङ्घको चुनाव भईरहेको छ। बिहान ९ बजेदेखि ५ बजेसम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए।
महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र जिल्लास्तरको निर्वाचनमा १३ हजार १२२ मतदाता छन्। प्रदेश संरचनामा महासङ्घमा १० प्रदेश मानेर निर्वाचन क्षेत्र छुट्याइएको छ।
मतदान सम्पन्न भएपश्चात बुधबार नै मतगणना शुरु गरिनेछ। कुनै बाधा नभए चैत २६ गते सबै तहको मतपरिणाम आउने महासङ्घको केन्द्रीय निर्वाचन समितिका संयोजक वरिष्ठ पत्रकार कपिल काफ्लेले जानकारी दिए। सातवटा प्रदेशमा बेग्लाबेग्लै उम्मेद्वारहरुको भोटिङ हुनेछ।
७ प्रदेश बाहेक काठमाडौं, ललितपुर र भक्तपुरमा ‘उपत्यका प्रदेश’को संरचना बनाइएको छ। उपत्यकाका ३ जिल्ला बाहेक बागमती प्रदेशका अन्य जिल्लालाई समेटेर बागमती प्रदेश बनाइएको छ। एसोसिएटलाई पनि प्रदेश स्तरकै मान्यता दिइएको छ। एसोसिएटमा अनलाइन पत्रकार संघ, चलचित्र पत्रकार सङ्घ, खेलकुद पत्रकार सङ्घ र वातावरण पत्रकार समूहको सहभागिता छ।
त्यस्तै प्रतिष्ठानहरुबाट बेग्लै प्रदेशस्तरको मतदान हुनेछ। जिल्ला, एसोसियट्स, प्रदेश र केन्द्रका लागि एकै पटक निर्वाचन हुने छ। त्यसका लागि मतदाता पत्रकारले जिल्लाबाटै सबै तहका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। मतदानका लागि कुनै आधिकारिक परिचय पत्र वा नागरिकता चाहिने व्यवस्था गरिएको छ।
निर्वाचनका लागि ७७ जिल्लाको सम्बन्धित जिल्ला शाखामा, ४२ प्रतिष्ठानको विभिन्न १९ स्थानमा र एक एसोसियटको दशरथ रङ्गशालामा गरी कुल ९७ बुथमा निर्वाचन तोकिएको छ। केही शाखा र प्रतिष्ठानमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भए पनि आज चैत २५ गते मात्रै निर्विरोध निर्वाचित भएको घोषणा गरिनेछ। यस निर्वाचनमा तीन हजारभन्दा बढी पदाधिकारी तथा सदस्य निर्वाचित हुने र त्यसमा महिलाको उपस्थिति ३३ प्रतिशतभन्दा बढी रहने संयोजक काफ्लेले बताए। महासङ्घका सबै संरचनामा पूर्ण समावेशिताको व्यवस्था गरिएको छ।
केन्द्रीय समितिको ४९ पदका लागि १५२ को उम्मेदवारी परेको छ। केन्द्रीय समितिको अध्यक्षमा विपुल पोखरेल र निर्मला शर्माले प्यानलसहित उम्मेदवारी दिएका छन् भने गजेन्द्रसिंह बुढाथोकी पनि अध्यक्षको प्रत्याशी हुन्। प्रत्येक तीन वर्षमा सबै समिति तथा शाखाहरुको निर्वाचन हुने महासङ्घमा हाल सबै समितिका नेतृत्व चयनका लागि सबै सदस्यहरुको प्रत्यक्ष मतदानको व्यवस्था गरिएको छ। महासङ्घमा हालसम्म कुनै पनि अध्यक्षको कार्यकाल दोहोरिएको छैन।
महासङ्घका जिल्ला शाखा ७७, प्रतिष्ठान शाखा ४२, एसोसिएट सदस्य ११, वैदेशिक शाखा नौ, प्रदेश परिषद् १०, प्रदेश समिति १०, केन्द्रीय परिषद् र केन्द्रीय समिति रहेका छन्। महासङ्घको केन्द्रीय समिति ४९ सदस्यीय रहेको छ भने प्रदेश समिति २१ सदस्यीय रहने विधानको प्रावधान छ। जिल्ला तथा प्रतिष्ठान शाखा भने सदस्य सङ्ख्याअनुसार रहने व्यवस्था गरिएको छ।
केहि तस्बिरहरु :