
माघ-२४,बैतडी
शनिबार बेलुका विवाहित छोरीलाई गोली हानेर हत्या गरी बाबु फरार भएका छन । बैतडी पुर्चौडी नगरपालिका-१०, विजयपुरका ६५ वर्षीय धनबहादुर महराले छोरी बेलमती महरा (धामी)को गोली हानी हत्या गरेका हुन्।
शनिबार बेलुका ५ बजे घरमै गोली हानी छोरीको हत्या गरेको जानकारी प्राप्त भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।
‘छोरीको हत्या गरी महरा फरार रहेका छन्,’ उनले भने, ‘घटना भएको खबर पाए पश्चात पुरघाट चौकीबाट प्रहरी टोली खटिएको छ, प्रहरी टोली पुगेपछि थप जानकारी प्राप्त हुनेछ।’
विवाहित छोरी गएको एक महिनादेखि माइतमै बसिरहेकी बताइएको छ। छोरीमाथि महराले किन गोली चलाए भन्ने खुल्न सकेको छैन।
घटनामा भरुवा बन्दुक प्रयोग भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। घटनापश्चात फरार रहेका महराको खोजी कार्य तीव्र पारिएको छ।
आवश्यक अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।