
१ कार्तिक,
बाँके । कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा एक सुत्केरीको मृत्यु भएको छ ।
कैलाली जिल्लाको गौरीगंगा वडा नं. ९ मसुरिया निवासी २३ वर्षीया कमला धामीको शल्यक्रिया मार्फत जुम्लयाहा बच्चा निकालिए पछि धामीको अस्पतालमा मुत्यु भएको हो ।
शल्यक्रिया पश्चात सामान्य अवस्थामा रहेकी उनी अचानक बेहोस भएकी थिइन । सामान्य अवस्थामा रहेकी अचानक बेहोस भएर मृत्यु भएपछि डाक्टरको लापरबाही कारणले मृत्यु भएको भन्दै शव नबुझेको जेठाजु रमेशबहादुर धामीले बताएका छन ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई असोज २८ गते शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरिएको थियो । अस्पतालका डाक्टरसँगको सल्लाह, परामर्श गरेर २९ गते अपरान्ह ४ बजेको समयमा कमलालाई शल्यक्रिया कक्षमा लगिएको थियो ।
रमेशका अनुसार, अपे्रशन पश्चात कमलाले आफन्तसंग कुराकानी समेत गरेकी थिइन । पछि एक्कासी बेहोस भएपछि आइसियुमा लामो समयसम्म राखेर राम्रो उपचार नपाएर मृत्यु हुनुको साथै थप उपचारको लागि काठमाडौं लिनको सहयोग माग्दा डाक्टरहरुले बेवास्ता गरेको उनको आरोप छ ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरका प्रशासकीय अधिकृत सन्जु पन्तले सुत्केरीको ‘ब्रेन डेथ’ भयो भन्नेबारे आफुले सामान्य जानकारी पाएको र सम्बन्धित डाक्टरको टिमसँग बुझ्ने काम गरिरहेको बताउनुभयो ।