
१ कार्तिक,
नेपाल राष्ट्र बैंकले ट्रेजरी बिल बिक्री गर्दैछ । सो बैंकले रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन ट्रेजरीको बोलकबोल अनलाइनमार्फत आज दिउँसो ३ बजे खुला हुनेछ ।
यस बैंकले ९१ दिन अवधिको रु २० करोड, १८२ दिन अवधिको पाँच अर्ब र ३६४ दिन अवधिको रु ६ अर्ब गरी जम्मा रु ११ अर्ब २० करोड बराबरको ट्रेजरी जारी गर्न लागेको बैंकले जारी गरेको प्रकाशित सूचनामा उल्लेख छ ।
बैंकले जारी गरेको ९१ दिन अवधिको ट्रेजरी आगामी माघ ४ गते परिपक्व हुनेछ भने १८२ दिने ट्रेजरी आगामी वैशाख ६ र ३६४ दिने ट्रेजरी २०७९ साल कात्तिक १ मा परिपक्व हुनेछ । यसअघि बैंकले गत असोज २५ गते रु १३ अर्ब २५ करोड बराबरको ट्रेजरी जारी गरेको थियो ।
आज हुने बोलकबोलमा सहभागी क, ख र ग वर्गका बैंक, बैंक तथा वित्तीय संस्था, गैर–बैंक तथा वित्तीय संस्था, सङ्गठित संस्थाका साथै सर्वसाधारण नेपाली नागरिकमध्ये सर्वाधिक अङ्क कबोल गर्नेलाई बैंकले मङ्गलबार ट्रेजरी बिल प्रदान गर्नेछ ।
के हो ट्रेजरी बिल
मुद्रा बजारको एक प्रमुख उपकरणको रुपमा रहेको ट्रेजरी बिल एक वर्ष वा सोभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो ।
सरकारलाई आवश्यक पर्ने अल्पकालीन (एक वर्षभन्दा कम) अवधिको स्रोत जुटाउन राष्ट्र बैंकले बोलकबोलको माध्यमबाट बहुबोल मूल्य विधिअनुसार यस्तो बिल जारी गर्ने गर्छ ।
२८ दिने, ९१ दिने, १८२ दिने र ३६४ दिने गरी चार किसिमको ट्रेजरी बिल केन्द्रीय बैंकले जारी गर्दछ । नेपालमा हाल २८ दिने ट्रेजरी बिल प्रचलनमा आएको देखिँदैन ।