
५ असोज,
बाँके । खेलमा मिलेमतो तथा अनियमितता र ठगीसम्बन्धी कसूरको अनुसन्धानका क्रममा अखिल नेपाल फुटबल संघ (एन्फा) का कोषाध्यक्ष र लेखापाल पक्राउ परेका छन्।
नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का अनुसार राष्ट्रिय खेलकुद परिषद्को पत्र तथा वसन्त रिजालको निवेदन/जाहेरीका आधारमा नेपाल सरकार वादी र रविन्द्र जोशीसमेत प्रतिवादी रहेको खेलमा मिलेमतो तथा अनियमितता गर्न नहुने र ठगीसम्बन्धी कसूरको अनुसन्धान भइरहेको छ।
अनुसन्धानका क्रममा ललितपुर महानगरपालिका–३ पुल्चोकका ६० वर्षीय रविन्द्र जोशी र ललितपुर महानगरपालिका–५ लगनखेल, थसीखेलका ५५ वर्षीय सन्जीब पाण्डे पक्राउ परेका हुन्।
जोशी अखिल नेपाल फुटबल संघ (एन्फा), सातदोबाटोमा कोषाध्यक्ष पदमा कार्यरत छन् भने पाण्डे लेखा अधिकृतका रूपमा कार्यरत रहेको प्रहरीले जनाएको छ।
पक्राउ परेका दुवै जनालाई मिति २०८३ असोज ४ गते ललितपुर जिल्ला अदालतबाट पहिलो पटक चार दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ।













