भैरहवाको कालिङ्गा क्यासिनोमा जुवा खेल्ने ५ नेपालीसहित ६ जना नियन्त्रणमा

२६ भदौ,

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–१० स्थित कालिङ्गा क्यासिनोबाट जुवा खेलिरहेको अवस्थामा ५ जना नेपाली नागरिकसहित क्यासिनोका पिट म्यानेजरलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले बिहीबार दिउँसो करिब ४ः१५ बजे प्राप्त सूचनाका आधारमा क्यासिनोमा चेकजाँच गरेको थियो। सो क्रममा नेपाली नागरिकहरू क्यासिनो प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा फेला परेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा म्याग्दीको बेनी नगरपालिका–७ का ४८ वर्षीय नारायण घर्ती, कास्कीको पोखरा महानगरपालिका–१५ का ४७ वर्षीय रोशन केसी, पोखरा–१७ बिरौटाका ३९ वर्षीय सुदिप आचार्य, रुपन्देहीको बुटवल उपमहानगरपालिका–६ का ४६ वर्षीय रामु श्रेष्ठ र बुटवल–३ का ३६ वर्षीय चन्द्रप्रसाद श्रेष्ठ रहेका छन्।

त्यस्तै, क्यासिनोका पिट म्यानेजर भारतको हरियाणा, फरिदाबादका २५ वर्षीय पारस भाटियालाई समेत प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा लिइएका सबैलाई आवश्यक कारबाहीका लागि वडा प्रहरी कार्यालय भैरहवा, रुपन्देही पठाइएको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खबर

Plugin Development: MN Softwares